कला

माला

लघुकथा

किशोर केसी

गाउँपालिकाको केन्द्रमा केन्द्रीय नेता पाल्ने कार्यक्रम थियो। पुरानो कार्यकर्ताले कार्यक्रममा जाने निधो गयो। जान त जाने कोसेली के लिएर जाने। आफूसँग अरू केही नभएपछि उसले एउटा माला लाने विचार गर्‍यो। ज्यानको जोखिम मोलेर उसले अप्ठ्यारोमा फुलेका फूलहरू टिप्यो। माला उन्दा सियाले उसको हात घोच्यो। त्यसपछि ऊ कार्यक्रमस्थलतर्फ हिँड्यो।

नेताजीलाई स्वागत गर्न प्रतीक्षारत् लाममा ऊ पनि लामबद्ध भयो।

–नेताजी पाल्दै हुनुहुन्छ,पाल्नै लाग्नुभयो, पालिहाल्नुभयो भन्ने उद्घरण निरन्तर भइरहे पनि उहाँ पालिसक्नुभएको थिएन। टन्टलापुर घाममा असिनपसिन भएर पनि पुरानो प्रतिबद्ध कार्यकर्ता डगमगाएन, उभिरह्यो।

निकै ढिलो गरेर नेताजी पाल्नुभयो। जब नेताजी पाल्नुभयो तब मान्छेहरू ओइरिए। तँछाडमछाड भयो। नेताजीका निकटमा पर्न ठेलमठेल भयो। फलतः पुरानो कार्यकर्ता पेलियो र पछाडि पर्‍यो।

नेताजीका गलामा माला थपिँदै गए, भरिंदै गए, झिकिंदै गए र फ्याँकिंदै गए। पेलिएर पछाडि परेको पुरानो कार्यकर्ताले हेरिरह्यो, दुख गरेर उनिएका मालाहरूको नियति जो निमेषभर पनि नेताजीका गलामा बस्ने सौभाग्य पाइरहेका थिएनन्।

उसलाई त्यो मालाको माया लाग्यो, आफ्नै गलामा लगायो र घर फर्कियो। बाटाभरि फूलको सुवास मगमगायो। उसलाई आनन्द। ओरालो झर्ने ठाउँमा पुगेर एउटा सेल्फी हान्यो र निर्णय गर्‍यो– यो फोटोलाई ऊ प्रोफायल पिक्चर बनाउनेछ।

प्रकाशित: ७ फाल्गुन २०७८ ०८:०२ शनिबार

अक्षर