कला

नेपाली लोककला र समसामयिक कला

अहिले नेपालमा लोककला, परम्परागत कला र समसामयिक कलाबीच थोरै अन्योल सिर्जना भइरहेको स्थिति छ। कसरी यसलाई सीमामा बाँध्ने भन्ने सन्दर्भमा सम्बन्धित निकायले पहल नगर्दा यो आफूखुसी अगाडि बढेको देखिन्छ।

अस्ति अनौपचारिक रूपमा भएको बहसमा एक कलाकारले सामान्य जिज्ञासा राखे। कोल्याबोरेटिभ आर्ट राष्ट्रिय कला प्रदर्शनीमा स्वीकार्य हुन्छ कि हुँदैन भन्ने उनको प्रश्न थियो। प्राज्ञबीच मुखामुख गर्नुभन्दा ज्यादा केही भएन, देखिएन।

अहिले पश्चिमी मुलुकमा कोल्याबोरेटिभ कलालाई समसामयिक कलाअन्तर्गत राखिने गरिन्छ। मूलतः कोल्याबोरेटिभ वर्क भनेको समूहगत काम (कला) हो। यसमा ललितकलाकर्मी मात्र होइन, संगीत, नाटक, साहित्य वा कुनै विधाका सर्जक मिलेर कलाको निर्माण गर्छन्।

यस्तै प्रकारले भविष्यमा साइट स्फेसिफिक वर्क वा रेसिडेन्सियल वर्कका रूपमा कलाकारले प्रज्ञा प्रतिष्ठानकै हलका भित्ता र वरिपरि त्यहीँका सामग्री वा कुनै पनि वस्तुलाई एक पात्र बनाएर कला बनाउँछु भन्दा मिल्ने कि नमिल्ने? यस्ता कला राष्ट्रिय कला प्रदर्शनीमा प्रदर्शन हुन पाउँछन् कि पाउँदैनन्? यसको सीमांकन कहाँ कसरी उल्लेख गरिएको छ ? यसतर्फ सम्बन्धित निकायले हेक्का राख्न आवश्यक छ।

यो अहिलेको नितान्त नयाँ कलागत प्रवृत्तिको कुरा भयो। अब अलि पुरानै कुरा गरौँ। युरोपमा एडवार्ड मानेले सन् १८६३ मा तयार गरेको ‘ले डेजुनर सुर ल्हेर्बे’ नामक चित्रलाई सलोन (सरकारी कलाको निकाय)ले प्रदर्शनीका लागि अयोग्य घोषित गरेका थियो।

मानेको यो काममा कलाको विषयमा थोरै परिवर्तन गरी दुई निर्वस्त्र महिला र दुई सवस्त्र पुरुषलाई पिकनिकमा रमाइलो गरिरहेको अवस्थामा देखाइएको थियो। यसमा दूरीको गहिराइ अलिकता घटाउने र व्यक्तिगत क्षेत्रलाई विशेष सम्बोधन गरी समतलीय प्रभावलाई महत्वका साथ उठाउने प्रयोग उनले गरेका थिए। त्यसबखत महिलाको लुगामा जापानिज प्रिन्टको प्रयोग भर्खर भर्खर चलन चल्तीमा आएको थियो, मानेले आफ्नो चित्रमा त्यसको प्रयोग गरेका थिए।

तत्कालीन युरोपियन समाज कलामा रहनुपर्ने शास्त्रीय मूल्य–मान्यताप्रति सजग थियो, त्यसैले मानेको कला सलोनलाई असैह्य भयो। नयाँ देखिने सन्दर्भमा यस्तै अन्य चित्र पनि देखिँदा त्यस बखत करिब ३००० भन्दा बढी चित्रलाई सलोनको कला प्रदर्शनीमा अयोग्य घोषित गरिएको थियो। सामान्य महिलालाई यसरी निर्वस्त्र देखाउनु भनेको नयाँ प्रयोग मात्र थिएन, यसले समाजमा पार्न सक्ने नकारात्मक प्रभावसँगै अनेकौँ प्रश्न उठ्दा प्रदर्शनमा रोक लगाइएको थियो। त्यसबखत कलाको स्थापित मान्यता, शैली र प्रवृत्तिलाई अनुशासनबद्ध रूपले पालना गरिएको थियो।

अहिले कलाविज्ञले मानेको यसै चित्रमा रहेको अनेकौँ विशेषतालाई केलाउने क्रममा अनेकौँ अवयव पत्ता लगाउने कोसिस गरिरहेका छन्। पछि कलाकारले विद्रोह गरे। यही प्रदर्शनीमा उनको कामलाई सहभागी त गराइएन, तर सरकारले यी र यस्तै कलाको अलग्गै प्रदर्शन गर्नुपर्‍यो। जसलाई अस्वीकृत कलाकारको कला प्रदर्शनी भनेर आज पनि इतिहासमा पढ्न पाइन्छ। त्यतिबेला सम्भवतः कलाकारले आफ्नो कलाबारे पहिलोपल्ट बोले, आफ्नो काम गराइबाट पछि हटेनन्। पछि आधुनिक कलाको उदयका लागि यही घटना नै शुभारम्भ बन्न गयो।

वैकल्पिक कला विश्वमा एक नवीन प्रवृत्तिका रूपमा विकास भइरहेको छ। कोल्याबोरेटिभ वर्क लगायत यसका पचासौँ अन्य प्रवृत्ति पनि यसमा समावेश छ। यो हाम्रो राष्ट्रको सन्दर्भमा कति आवश्यक छ वा कति छैन, यसबारे केलाउने र व्याख्या गर्ने काम प्रज्ञा प्रतिष्ठानको हो। माथि जसले कोल्याबोरेटिभ आर्टको कुरा गर्दैछन्, काम गर्दैछन्, उनले कुन रूपमा राष्ट्रिय कलामा भाग लिन्छन् वा के गर्छन् त्यो भने बाँकी नै रह्यो।

ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीमा छनोट हुनका लागि व्यवस्था गरिएको मानक नयाँ छैनन्। यसका प्रारूप, ढाँचा र यसभित्र रहेका नियम–उपनियम उहिले जमानामा निर्माण गरिएका भन्दा खासै फरक छैनन्। त्यसैले यो मानक वैकल्पिक कलाको सोचसम्म कसरी पुग्ला? यसको आधिकारिक जवाफ दिने काम ललितकला प्रज्ञा प्रतिष्ठानकै हो।

अहिले वैकल्पिक कलाको परिभाषा र यसमा अटाउन सक्ने अनेक प्रकारका कलालाई दृष्टि दिँदा यी कला कसरी अगाडि बढ्छन्, यो आफैँमा एउटा जटिल प्रश्न छ। वैकल्पिक कलाको एक रूप उत्तर आधुनिक कलाको माध्यम, रूप, प्रस्तुति, संरचनामाथि कलाकार स्वयंको सीमाहीन परिभाषा छ, यस्ता कला सबैलाई कला भन्ने कि नभन्ने भन्ने चर्चा अहिले चल्न थालेको छ।

राजनीतिकर्मी वा सामुदायिक कार्यकर्ताले सामाजिक वा राजनीतिक मुद्दा उठाएर गरिने क्रियाकलापलाई आज अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा स्पेस दिन थालिएको छ। कलाको काम जसले जसरी गरे पनि हुन्छ भन्ने मान्यता स्थापित भइरहँदा विशेषतः राम्रो काम गरिरहेका कलाकार निरुत्साहित हुने निश्चित छ।

समसामयिक कला, लोककला वा हस्तकला मात्रै अलग अलग प्रदर्शन हुने गर्छन्। हस्तकलाको हरेक वर्ष विशाल मेला आयोजना गर्ने प्रचलन छ। जसले हस्तकलाको प्रवद्र्धनमा सघाइरहेको छ। यसर्थ आ–आफ्ना पहिचान बोकेका कला आ–आफ्नै स्वभाव र प्रक्रियामा अगाडि बढ्ने हो भने अन्योल सिर्जना हुने वातावरण बन्दैन सायद। समसामयिक कलाको नाममा सबैजसो कला वा अकला पनि समावेश गर्ने प्रचलन बढ्यो भने स्वभावतः यसले ठूलै अन्योल निम्त्याउँछ। यसैले प्रज्ञा प्रतिष्ठानहरूको जन्म भएको हुनुपर्छ।

पहिला हामीले नै हाम्रा कला छानेर अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा भाग लिन पठाउँथ्यौँ। अहिले विदेशबाट क्युरेटर आउन थालेका छन्, आयोजकले उनीहरूलाई बोलाउने गरेका छन्। आजका हाम्रो कला अब्बल छन् कि छैनन्, हाम्रो कला समसामयिक हुन् कि होइनन् भनी विदेशी क्युरेटरले छान्ने गर्छन्। जसले गर्दा स्वभावतः हामीले भनी आएको, बुझ्दै आएको लोककला र परम्परागत कला हाम्रै देशभित्र हुने अन्तर्राष्ट्रिय समसामयिक कला प्रदर्शनीमा प्रदर्शित हुन पाइरहेका छन्।

यो सही वा गलत के हो भविष्यले नै बताउला। अहिले हामीले हाम्रो समसामयिक कला, लोककला वा मौलिक कलालाई कसरी परिभाषित गर्न खोजिरेहका छौँ ? यो सबैको चासो र खोजीको विषय बन्न गएको छ।

योसँगै अन्य प्रश्न पनि छन्- लोककला, परम्परागत कला र समसामयिक कलालाई आधिकारिक रूपमा छुट्ट्याउनका लागि हामीले विकास गरेका मापनका सूचक के हुन् ? आजका कलाकारले बनाएको कला समसामयिक कला हो? विषय अलग्गै र समसामयिक विषय भएपछि गरिने समसामयिक कला हो?

माध्यम नौलो भएपछि त्यसलाई आधुनिक कला मान्ने? पश्चिमी प्रवृत्ति र प्रविधि हाम्रो कलामा छिरेपछि त्यसलाई आधुनिक मान्ने ? कलाकारले कलामा भावाभिव्यक्ति, वा कलाकारले कलाको संयोजन कसैको निर्देशनमा नगरेर आफैँले गरेका कला आधुनिक हुन्? वा, विदेशमा चरम रूपमा चलेका कलाका प्रवृत्तिलाई अँगालेर बनेका यस्ता कला मात्र समसामयिक कला हुन्? हाम्रो मापनका सूचक के हुन् ? यी र यस्तै अनेकौँ जिज्ञासा हुनु र यसको उत्तर कतैबाट नआउनुले अझ अन्योल थपेको छ।  

यस्तो किन हुन गयो ? यसमा स्पष्ट दुई–चारवटा कारण देखिन्छन्। पहिलो कारण भनेको हामीले गरेका कलाको आधिकारिक विश्लेषणात्मक अभिलेखन हामीसँग त्यति धेरै छैन। अझ भनौँ, कुनै सम्बन्धित संस्थासँग यसको आधिकारिक यथेष्ट अभिलेखन छैन। उच्च स्तरको कला पत्रिका वा कुनै संस्थाले कलाको अभिलेख राख्ने गरेको देखिँदैन। यदि यो दरिलो भएको भए यसैका आधारमा सायद हामी हाम्रै समसामयिक कला के हो भन्न सक्थ्यौँ।

अझै पनि विशेषतः समसामयिक कला, परिवर्तन हुँदै गइरहेको लोककला वा परम्परागत कलामा शोध, अनुसन्धान गरिनुपर्छ भन्ने सोच सम्बन्धित निकायमा देखिँदैन। कला लेखन विधालाई नितान्त अपांग बनाइएको अवस्था छ। यसो हुँदा हामीले चाहेर वा नचाहेरै अरू कसैले भनिदिएको कुरा मान्न बाध्य छौँ। हाम्रै गौरवमयी इतिहास, संस्कृति र परम्परालाई पन्छाएर बाहिरका आयातीत संस्कृति हामीलाई प्यारो लाग्न थालेको छ। हामीले हाम्रै इतिहास बनाउन चासो देखाएका छैनौँ। छिमेकी मुलुकमै पनि आफ्ना मौलिक कलाको इतिहास राख्ने प्रचलन छ। त्यहाँ कलामाथि यथेष्ट मात्रामा व्याख्या विश्लेषण भएका छन्।

हाम्रा आधिकारिक निकाय अहिले पनि कलाको वर्कसप गर्न थाकेको देखिँदैन। वैकल्पित कलाको व्याख्या विश्लेषण गर्न हामीले भाषाविद्, समाजशास्त्री, मानवशास्त्री, राजनीतिशास्त्रीलाई ठाउँ दिँदै आएका छौँ। सबैभन्दा पहिले यसैको निराकरण हुन आवश्यक छ। सबैभन्दा पहिला कला माथिको हाम्रै ‘थट प्रोसेज’लाई बदल्न आवश्यक छ।

जहाँसम्म लोककला, परम्परागत कला र समसामयिक कला छुट्ट्याउने कुरा छ, कतिले अहिले सिर्जना गरिएका लोककला वा परम्परागत कलालाई नै आधुनिक लोककला वा आधुनिक परम्परागत कलाका रूपमा हेरेको देखिन्छ। आजका समयसापेक्ष कलालाई झट्ट हेर्दा परम्परागत वा आधुनिक दुवैजस्ता देखिन्छ। समय, ठाउँ अनुसार दुवै खण्ड (परम्परागत वा समसामयिक)का कला प्रदर्शन हुने गरेको पनि देख्ने गरेका छौँ। यसबारे गहिरोसँग छलफल र समीक्षा गर्न खोजिएको अहिले देखिन्न। कलाकार स्वयंले नै यसमा चासो दिएका छैनन्। यसो हुनुमा हाम्रै पनि अलिकता अज्ञानता होला। तथापि यसो हुनुका मुख्य कारण पश्चिमी कलाको प्रभाव नै हो।

पश्चिमा कलाको विकासको सन्दर्भ फरक छ। तत्कालीन समाजमा आउन थालेको नयाँ वस्तुलाई मोटिफका रूपमा प्रयोग गर्नु (जसलाई समाजले मान्यता प्रदान गरिसकेको छैन), दृश्यलाई केन्द्रमा राखी आकृति वा वस्तुलाई भाँच्नु, बेरूप बनाउनु, तन्काएर लामो वा छोटो बनाई अस्वाभाविक बनाउनु, समूहगत रूपमा कलाको नवीनतम दर्शनका आधारमा कलाको निर्माण गर्नु आदिबाट पश्चिमी कला शास्त्रीयताबाट आधुनिक कलाको क्षेत्रमा प्रवेश भएको देखिएको छ।

यही पश्चिमी कला–दर्शन, प्रविधि, शैली र प्रवृत्तिमा आधारित औपचारिक शिक्षा लिएपछि वा प्रभावित भएपछि हामीले पनि त्यसैअनुरूप कला सिर्जना गर्न थाल्यौँ। संरचना र कलाको मोटिफमा आकृति भाँच्न, विकृत बनाउन थालेपछि त्यसैलाई सम्भवतः आधुनिकता भन्न थाल्यौँ। यसो भन्न किन सजिलो भयो भने हामीले अर्को आफ्नै अलग्ग संरचनात्मक आधार (खोज र अनुसन्धान) बनाउन सकेका छैनौँ। विश्वले भन्दै आएको, मान्दै आएको सूचकलाई जस्ताको तस्तै अनुकरण गर्दा सम्भवतः आज हाम्रा कला बुझ्न अझ अन्योल भएका छन्।

नेपालमा जब १९औँ शताब्दीको मध्यतिर विशेषतः पश्चिमा शैलीको प्रभाव पर्दै गयो, पारिँदै गरियो। त्यसपश्चात् पहिलोपटक चित्रकलाको इतिहास लेखी समसामयिक कलाको संकेत गर्ने काम कलाविद् नारायणबहादुर सिंहले गरे। नेपालमा सदियौँदेखि चलिआएको कलाको एउटा शैलीभन्दा फरक शैली देखिन थालेपछि ‘समसामयिक कला’ शब्दको प्रयोग हुन, गरिन आवश्यक थियो होला। उनले राम्रै गरेका हुन्। यसपछिका दिनमा हामीले नेपाली धार्मिक कला, लौकिक कला, लोककलाका साथै समसामयिक कलाबारे साना–ठूला आलेख अभिलेखन गर्न सुरु गर्‍यौँ। अहिलेका अधिकांश कला आलेख उनैबाट निर्देशित छन्। अर्को आधिकारिक र भरपर्दो इतिहास लेख्न आजको दिनसम्म सकिएको छैन।

अझैसम्म लोककलाको स्पष्ट परिभाषा दिन नसके पनि गोलमटोल परिभाषा भने उपलब्ध छ। समसामयिक कला प्रदर्शन माझ लोककलालाई पनि प्रदर्शन गर्न थालिएको छ। कुनै पनि प्रदर्शनीमा परम्परागत जात्रा, नाच र बाजागाजा आदि देखाइन्छ। यसको पछाडि ‘हामी विश्वमा प्रचलनमा रहेको अत्याधुनिक कला माझ पनि छौँ है’ भन्ने सोचले काम गरेको हुन सक्छ।

धार्मिक गाथा, लोकोक्ति र किंवदन्तीमा आधारित भएर यस्ता लोककला बन्ने गर्छन्। बुट्टा, टेक्चरको अत्यधिक बाहुल्य र डेकोरेटिभ फर्ममा लोककला रहेको हुन्छ। सदियौँदेखि गर्ने गरेको आकृति नै यसमा संयोजन हुन्छन्। जसमा भाव हुँदैन तर विम्ब र प्रतीक यथेष्ट मात्रामा हुन्छ। विषयवस्तु समसामयिक हुँदैनन्। समसामयिक विषयवस्तु, घटना र सामाजिक सवाललाई मिसाउँदा नै लोककला बुझ्न अन्योल परेको हो। कतिमा कलामा सिर्जनाको नौलो माध्यम प्रस्तुत भई अर्थात् आधारभूत र चहकिलो रंगको सट्टा मधुर कोमल रंग प्रस्तुत भएर समसामयिक कलाको नजिक पुग्ने कोसिस गरेको देखिन्छ।

यस्तै कला समसामयिक बन्ने गरेका छन्। अझ भनौँ, पश्चिमी शैली, पद्धति, पश्चिमबाट आयातीत अनेकौँ प्रकारका रंगको प्रयोगबाटै समसामयिक कलाले स्पष्ट स्वरूप देखाएको छ, यो अन्यथा पनि होइन। 

साधारण भित्ता, कागज वा क्यानभासमा बनाइने चित्र लोककला हुन सक्थ्यो। तर यसैमा आज क्यानभासमाथि कागज आदि टाँसी ‘एसम्बल कला’ बनाइन्छ। खेर गएको, कुहेको वा मक्किएर फालेको वस्तुलाई जोडजाड गरेर बनाइएका कलाचाहिँ आज जंक आर्टले चिनिन थालेको छ। जुन स्वाभावतः समसामयिक कलाको उत्कृष्ट नमुना पनि हो।

लोककलाको मोटिफ, रूप र संयोजनलाई लिएर समसामयिक घटना आदिलाई अभिव्यक्त गर्नु पनि नितान्त समसामयिक कलाभित्र पर्छ। आज कला बनाउँदैमा आधुनिक हुने होइन, तथापि हिजोको अवस्था, सामाजिक मूल्य–मान्यता, राजनीतिक परिवेश, शिक्षाको स्तर, ग्लोबइजम्, साइबर कल्चर आदिले लोककला वा परम्परागत कला आज केही न केही रूपमा समयसापेक्ष भएर देखापर्नु अन्यथा होइन। ललितकला मूलतः दृश्यकला भएका कारण यसको बाह्यरूपमा देखिने प्रारूप भाँचिन, बंग्याउन थालेको प्रसंगसँग आधुनिकतालाई जोड्न खोजेको देखिन्छ। सन् १८८० देखि १९०५ सम्म चलेको यो कलाको खण्डले मूलतः बाह्य सौन्दर्यलाई गौण रूपमा चित्रण गरी आन्तरिक तत्वको खोज गरेको छ। यसै बेलादेखि क्युबिक फर्मको पराकाष्ठा, कार्टुनको उदय, अभिव्यञ्जनाको उदय आदि आधुनिक कलाको मुख्य विशेषता देखिन गएको हो।

हिजो धर्मशास्त्रीहरूले निर्देशन गरे अनुसार कला बनाउने प्रक्रिया र आज कलाकार उन्मुक्त भएर बनाएको यस्तै कलामा पनि फरक भइहाल्छ। यसका साथै कलाकार आफैँले आफ्नो कलाको वकालत गर्ने, कलाको दर्शनका आधारमा व्यक्ति वा समूहगत रूपमा कलाई आन्दोलनकै रूपमा अघि बढाउने अभ्यास हुँदा आधुनिक कला हामीबीच आएको हो। 

कतिले आधुनिक कलाको विषयलाई मूल रूपमा लिएका छन्। कतिले प्रस्तुतिको ढाँचा परिवर्तन भयो भने आधुनिक कला भयो पनि भन्छन्। सामान्यतः लोककला जनमानसमा भिजेको कला, धर्म र संस्कारसँग नजिक भएर विकास भएको छ। विविध समुदायमा आ–आफ्नो संस्कार मिल्दो हिसाबले किसिम किसिमका लोककलाको निर्माण हुँदै आएको छ। लोककला कुनै भित्तामा, कुनै जमिनमा र कुनै ताडपत्र, भोजपत्र र पछि कागज वा क्यानभास आदिमा बनाउन थालियो।

समष्टिमा भाव अभिव्यञ्जना र रचनालाई प्रस्तुत गर्दा देखिएका अस्वाभाविक रूप, अवधारणा, विचार, समसामयिकता, कुनै अवयव कलाकारका लागि एक पात्र हुन सक्छन्, साधन हुन सक्छन्। तथापि कलाकार निजी विचार आउन सक्छन्। यसोभन्दा समसामयिक कलाको नजिक पुग्न सजिलो होला।

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

प्रकाशित: २९ माघ २०७८ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App