छविलाल खड्का
सुशमी निकै खुसी मुद्रामा स्कुल गेटभित्र पसी। नजिकै सर र पेमालाई देखी।
‘गुड मर्निङ सर।’ आदरपूर्ण भावमा बोली।
‘गुड मर्निङ। गुड मर्निङ। सुशमी त धेरै खुसी छ त।’ सरले जिज्ञासा राख्नुभयो।
ऊ हल्का लजाउँदै ‘हजुर सर’ भनी।
‘किन यति धेरै खुसी?’ सरले सोध्नुभयो।
‘हिजो मेरो ह्याप्पी बर्थ डे मनाएको।’ ऊ सरासर कक्षाकोठामा गई।
पछिपछि पेमा पनि गई।
‘ह्यापी बर्थ डेमा तिम्रो बाबाले के गिफ्ट दिनुभयो त?’ पेमाले हतारमा सोधी।
मेरो बाबा त विदेश जानुभएको छ। गिफ्ट त ड्याडीले ल्याइदिनुभएको। यति भन्दै झोलामा लुकाएर ल्याएको मोबाइल खोल्दै भनी, ‘हेर, ह्यापी बर्थ डेमा मेरो ड्याडी र मम्मी नाचेको भिडियो।’
दुवै खुसी हुँदै भिडियो हेर्दै थिए। अचानक पेमा झस्की। उफ्रीउफ्री नाच्ने मान्छे त उसकै बाबा पो थिए!
प्रकाशित: २९ माघ २०७८ ०४:०७ शनिबार