कला

पाटी, मान्छे र परेवा

कविता

माथि छानामा बसेको एक्लो परेवा हेर्दा

लाग्छ, त्यो मेरै मनको वेग हो

छानामुनिको पाटीलाई

भौतिकवादी दृष्टिले हेर्दा लाग्छ

यो संसारकै सबभन्दा सानो विश्रामस्थल हो

मनको भावनयनमा, अध्यात्मवादी दृष्टिले हेर्दा लाग्छ 

यो पाटी संसारकै सबभन्दा विशाल पाटी हो

जसको त्रिभुवन, त्रिकालरूपी तीन कवलबाट

जीवनलाई चियाएर हेर्दा लाग्छ

ब्रह्माण्डमा जन्म, जीवन र मृत्युको अन्त्यहीन चक्र चलिरहेको छ,

एकक्षणको विश्राम

एक पथिक जीवन जस्तै

आउँछन्, सुस्ताउँछन् र जान्छन्

लाग्छ, स्वर्ग, मत्र्य र पाताल त्यही पाटीमा अटाएको छ

र, त्यो पाटीमुनिबाट  

लौरो टेकेर गन्तव्यतिर गइरहेको एक वृद्ध पथिकलाई देख्दा लाग्छ

साँचो अर्थमा आफ्नै जीवन सांसारिक–ऐनामा देख्दैछु

एक गतिमान जीवन

एक संघर्ष, एक लहर, एक लक्ष्य !

सूर्यास्तले लिएर आउने सूर्योदयजस्तै एउटा अपरिहार्य आशा 

जीवन एक रैनबसेरा

त्यो तस्बिरको परेवा, पाटी र मान्छेजस्तै !

प्रकाशित: २९ माघ २०७८ ०३:३९ शनिबार

अक्षर