कला

चुनावको छातामुनि

कविता

केशव ज्ञवाली ‘आगत’

 

चुनाव आउँदै छ रे

तिमी चुनावको तयारी गर

चुनाव जित

हामी सोझा जनता न पर्‍यौं

हाम्रो हार निश्चित नै छ!

 

हामीले जतिपल्ट भोट हाल्यौं

तिमीले जनताको मन जित्यौ कि जितेनौ

तैपनि

तिमीले सधैं चुनाव जित्यौ र

कहिले एक्लै सरकार बनायौ

कहिले मिलेर सरकार बनायौ

तर,

देश बनाउने बेला सधैं ऐनामै फुट्यौ!

चुनावअघि

तिमीले हामीलाई बोलाएर

समृध्दिका सपना देख्न भन्यौ

हामीले मान्यौं

भोट हाल्न भन्यौ

हामीले मान्यौ

तिमीले चुनाव त जित्यौ तर

सिमानामा देश धेरैपल्ट हार्‍यो!

 

चुनाव जितेपछि तिमीले

देश समृद्ध बन्छ भन्ठान्यौं हामीले

तर,

तिमी त गाउँ फर्किनै छाड्यौ

आफ्नै बाचा बिर्सन थाल्यौ

शहरतिरै पो बस्न थाल्यौ!

 

गाउँको योजना लिएर हामी  

तिम्रो मन्त्रालय पनि आएका थियौं

तर,

कालो सिसाबाट

कालै चस्मा लगाएर तिमीले

हामीलाई नचिनेझै

गरी

भित्र पस्यौ र

चुनाव नआएसम्म बाहिर निस्केनौ!

प्रकाशित: २६ माघ २०७८ ११:२७ बुधबार

अक्षर