कला

रहर थिएन मलाई

कविता

सुरज उपाध्याय

चिलगाडी चढेर खाडीमा आउन

मलाई कहाँ मन थियो र!

उपाय नभएर पो आएको हो म

म किसानको छोरो

बडो मुस्किलले मेरा पुर्खाले किनेको

गैरी खेत बेचेर

हवाईजहाज चढ्न रहर थिएन मलाई

श्रीमतीको कानको मुन्द्रा बेचेर

राहदानी बनाउने रहर थिएन मलाई

रहर थिएन मलाई

मेरो देशको माटो छोड्न

छोराछोरीलाई

दायाँबायाँ राखेर

‘को खाई–को खाई’ हाम्म गराउँदै

आफ्नै हातले दूधभात खुवाउन

मलाई रहर नभएको कहाँ हो र।

रहरै रहरको उमेरमा

घर छोडेर खाडी पसेको हुँ म

मैले घर छोड्दै गर्दा

आँखाभरि आँसु पारेकी थिइन्

मेरी सुजाताले

लेक्टो मिठाई ल्याइदिनु भनेर

बाईबाई गरेका थिए छोराछोरीले

मजेत्राले आँसु पुछ्दै आशीर्वाद दिएकी थिइन्

मेरी आमाले  

पिँढीमा टुक्रुक्क बसेर

बडो भावुक भएर

मलाई नै हेरिरहेका थिए मेरा बाले  

गहभरि भरिएको आँसु

आँखाभित्रै लुकाएर

तगारोबाट निस्कदै गर्दा

पहिला पैसा मलाई नै पठाएस् है भन्दै  

कराएका थिए साहु बाले

मलाई रहर थियो

मलाई पनि इच्छा थियो

मेरै देशमा इलम गर्न

मेरै देशमा पसिना बगाउन

हो मैले पनि

बगाएको हो रगतपसिना

मेरो देशका लागि

काँधमा भरुवा बन्दुक बोकेर

मनभरि सुन्दर संसारको कल्पना गरेर

क्रान्तिकारी गीत गाउँदै

चारुमजुदारको फोटो पर्समा राखेर

चे ग्वेभाराको आदर्शलाई मुटुमा साँचेर

वर्गीय प्रेमलाई आदर्श मानेर

साथमा केही थान

क्रान्तिकारी गीतका क्यासेट बोकेर

सत्ताका कुकुरहरूको आँखा छल्दै  

निस्किएको थिए

मध्यरातमा घरबाट भागेर।

हो

घरबाट म भागेकै दिन

मेरो घरमा आगो लगाएका थिए

सत्ताका कुकुरहरूले  

मेरी गर्भवती सुजाता

बेडुलाको रूखमा लुकेर

मलाई अझै भाग्न इसारा गरिरहेकी थिइन्

मेरा बा

जसले मलाई तोते बोलीमै क्रान्ति सिकाए

अन्यायको विरोध गर्न सिकाए

मेरा बाले नै पढाएका थिए मलाई  

म्याक्सिम गोर्कीको आमा उपन्यास

छोरालाई भगाएको आरोपमा

मेरा बालाई

सत्ताका खातेहरूले

आँगनमै पाता कसेर यातना दिएका थिए

आज सम्झिरहेको छु  

ती सबै दिन

साउदी अरबको रसलाफानमा बसेर ...।

प्रिय मेरा पूर्व  सहकर्मीहरू

रहर थिएन मलाई देश छोड्न

फरक यति नै रहेछ

तिमीले मार्क्सवादअवसरवादी नेताबाट सिक्यौ

र अवसरवादी बन्यौ

मैले मार्क्सवाद

मेरै बाबाट सिके र

आफ्नै वर्गलाई

चुस्न ब्वाँसो बन्न सकिन।

प्रकाशित: २६ माघ २०७८ ०७:०८ बुधबार

अक्षर