कला

बुद्ध आदर्शमा ‘सुगन्धपुर’को परिचर्चा

झापास्थित बुद्धशान्तिको बुद्ध आदर्श माविमा कथाकार विश्व कुइँकेलको कथा संग्रह ‘सुगन्धपुर’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मुनाराज शेर्माले विविध प्रश्नका साथ प्यानल सहजीकरण गर्दै वक्ताहरू लेखक विश्व कुइँकेल,दामोदर ढुंगेल र कृष्ण बरालले उत्तर दिएर जिज्ञासा शान्त गरेका थिए।

दुई घन्टासम्म चलेको सो कार्यक्रममा कुमार भट्टराई, लिला अनमोल, जय भण्डारी,धनबहादुर श्रेष्ठ, बेनुप पनेरु, भवानी मिश्र, मनोरथ तिवारी, केसी श्रेष्ठ, महेश्वर सम्बाहाङ्फे, कृष्णराज भण्डारी,दुर्गा पोख्रेल,देवकुमारी शेर्मा,घनश्याम पौडेल लगायतले जिज्ञासा राखेका थिए।

खास गरी यथार्थ पात्रहरूको कथा लेखेको कथालाई सौन्दर्यकरण गर्न कतै फिक्सनाइज स्वैरकाल्पनिकीकरण गरेको नत्र यथार्थको जमिनमा उभिंदा लेखेबाहेक कल्पनामा मात्र कथा नलेखेको सत्य कथाकार बताए।

जागिरे जीवनमा भेटिएको पात्रहरू नै उनले पात्रको रूपमा आफ्नो कथामा उतारेका छन्। विशेष दलित मुद्दा, नारीको यौन अधिकार, कर्णालीको विकटता,दुख, लिपुलेक टिंकर क्षेत्रको समस्यामा कृतिले बोलेको कुरा लेखकीय धारणा छ।

यसअघि उमा सुवेदीको ‘सयौं पुतली’, गणेश निरौलाको ‘कोठेबारी ढुंगा र माटो’माथि चर्चा भैसकेको छ। यस्तो खाले विमर्श निरन्तर जारी रही विद्यालयमा साहित्यिक गतिविधिमार्फत सोध्ने र जवाफ दिने सीपि विकासको साथै नेपाली वर्तमान साहित्यसँग स्थानीय र विद्यार्थीलाई जोड्दै भविष्यमा राम्रो स्रष्टा जन्माउने लक्ष्य विद्यालयको रहेको आयोजकको पक्षबाट प्रधानाध्यापक कृष्णराज भण्डारीले राखेका थिए।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार भवानी मिश्रको प्रमुख आतिथ्य रहेको थियो।

अध्यक्ष मनोरथ तिवारीले यसप्रकारको महत्त्वपूर्ण कार्यक्रम विद्यालयले निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २४ माघ २०७८ ०६:४५ सोमबार

अक्षर