कला

धर्तीको रूप

कविता

बोधराज पौडेल

 

ताराले माथिबाट बर्साएका शीतका बुँदमा

गहुँका बिरुवाहरूले झुलाएका छन्

गोलाकार बनाएर मोतीका दानाहरू।

 

पहिलो सूर्यको किरणमा रमाएर

इन्द्रेनीको रङ भरेका गहुँका बोटहरू

सूर्यले मोती हर्ला भनेर

बिस्तारै समाहित गर्छन्

आफूभित्र मोतीका दानाहरू।

 

एवम् रितले चलेको सृष्टिको नियमलाई

उलंघन गर्न सक्दैनन् गहुँका बोटहरू

उसैगरी बर्साउँछ आकाशले मोतीका दाना

हरेक रातमा गोलाकार थोपा बनाएर

अनि न झुल्छन् फाँटमा गहुँका बालाहरू

सुनको पहाड उचालेर।

 

विश्वासमा दिएको यो उपहार

सधैं सँगालेर राख्छ स्वर्गको रूप

र त अस्तित्व छ आकाश र पृथ्वीको।

 

लहलह झुलेका बालामा चराको चिरर्बिर

मानव र प्राणीको सहअस्तित्व

सबै अनुपम छन्।

 

सृष्टि बचाउन

पृथ्वीले अनेक रूपधारण गर्नुपर्छ

नत्र कहाँ रमाउँछ धर्तीको रूप।  

प्रकाशित: २४ माघ २०७८ ०६:१४ सोमबार

अक्षर