टीएन भट्ट ‘विश्वामित्र’
तिमीले आरनमा पोल्न थालेपछि अणु र परमाणु
सेता हिमालमाथिको चिम्नीबाट
निस्केको हो रासायनिक र जैविक धुवाँको मुस्लो,
अनि सेतो हिमाल, कालो भएको हो,
अग्लो हिमाल होचो भएको हो,
मोटो हिमाल दुब्लो भएको हो,
आगोले छटपटाएपछि चिसो हिउँ
तातो आँसुको बाढीले
बगाएको हो तराई
बगेकी हो कतुवाई नखेल्दै,
आफ्नै आमाको दुधसँग,
र त थुनेलो भएको हो धर्तीको छातीमा,
पहाडमा डढेलो लागेपछि
श्वास फेर्न छाडेका हुन् रूखहरूले,
भत्किएको हो सूर्य अस्ताउने डाँडो
नपाएपछि सूर्यले बास बस्ने कटेरो
पग्लिएका हुन् चट्टान र,
गर्लम्म ढलेको हो भालुपहाड।
मान्छे!
मरेपछि तिमीभित्रको भगवान्
जन्मिएका हुन् मुसा, चमेरा,
गँगटा, सर्प छेपारा, बिछी,
सुन्दर पुतली र आदिवासी फट्यांग्राहरू,
म्याकडोनाल्डका रंगीन मेनुहरूमा।
विशाल सृिष्ट,
पस्किएपछि
पलास्टिकको प्लेटमा,
रोएका हुन ब्रम्हा!
पोखेर तातो लाभा
सञ्जीवनी पहाडमा।
खोज्न एक परान श्वास
पसल–पसल दौडिरहेको
आफ्नै सन्तान देखेपछि
हिक्का छाडेकी हुन प्रकृती!
हो अनि अग्लिंदै गरेको हो कल्की
जन्मेको हो इवोला,
फटफटाएको हो सार्स,
तिम्रै कर्तुतको वीर्यले,
जन्मेको हो कोरोना!
मान्छे,ए मान्छे!
भन त,
कोरोना तिम्रो को पर्छ?
प्रकाशित: २४ माघ २०७८ ०५:४४ सोमबार