कला

रहिनन् लता मंगेशकर

‘दिदी’ उपनामले चर्चित भारतीय गायिका लता मंगेशकरको सरस्वती पूजाको दिन निधन भएको छ। भारतको नागरिक सम्मान भारत रत्नबाट सम्मानित पाश्र्व गायिका ‘स्वर कोकिला’ लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको थियो।

कोभिड–१९ पोजेटिभसँगै निमोनिया भएपछि जनवरीको पहिलो सातादेखि थलिएकी उनलाई गत साता भेन्टिलेटरबाट निकालिएको थियो। शनिबारदेखि स्वास्थ्यमा समस्या देखिलगत्तै पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

१३ वर्षको उमेरदेखि सांगीतिक यात्रा सुरू गरेकी उनको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो। सात दशक लामो सांगीतिक यात्रामा उनले नेपालीसहित ३६ भाषामा ३० हजारभन्दा बढी गीत रेकर्ड गरेकी थिइन्। उनले दादासाहेब फाल्के, पदम भूषण, पदम विभूषणसँगै फ्रान्सको नागरिक सम्मान समेत प्राप्त गरेकी छन्।

भारत–चीन युद्धको समयमा रचिएको ‘ए मेरे वतन के लोगों’ देखि ‘लुक्का छुप्पी’ जस्ता गीतमा स्वर दिएकी उनको जन्म सन् १९२९ मा इन्दौरमा भएको थियो। गायक तथा कलाकार बुवा दीनानाथ मंगेशकरका कारण उनले पाँच वर्षको उमेरमा नाटकहरूमा गाउन र अभिनय गर्न थालेकी थिइन्। पाँचजना सन्तानमध्ये जेठी लताका दुई बहिनी आशा भोस्ले र उषा मंगेशकर पनि गायनमा चर्चित नाम हुन्। कहिल्यै औपचारिक शिक्षा नलिएकी उनले घरमा काम गर्न आउने सहयोगीबाट मराठी, पुरोहितबाट संस्कृत र शिक्षकबाट अन्य विषयबारे ज्ञान लिएकी थिइन्। फिल्म र थिएटर कम्पनी ऋणमा डुबेसँगै बुबाको मृत्युपछि परिवारको जिम्मेवारी उनको काँधमा आएको थियो।

इन्दौरको घर लिलामी भएपछि उनी सन् १९४० को दशकमा परिवारसँग मुम्बई आएर फिल्ममा अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा उनले मराठी फिल्म ‘गजभाउ’ मा पहिलो पटक केही लाइन गीत गाएकी थिइन्। सन् १९४७ ताका उनले अभिनयमार्फत मासिक दुई सय कमाउन थालेकी थिइन्। ‘मलाई अभिनय गर्न कहिल्यै पनि मन लागेन,’ बिबिसीसँग एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेकअप गर्नु, त्यो लाइटहरू, अनि कसैले डायलग बोल भनेर निर्देशन दिनु, यो सब कुराले असहज बनाउँथ्यो मलाई।’  

गुल्जारको शब्दमा आरडी वरमनको संगीतमा भूपिन्दर सिंहसँग ‘किनारा’ फिल्ममा हेमा मालिनीका लागि उनले गाएको ‘मेरी आवाज ही पेहेचान है’ अर्थात मेरो आवाज नै मेरो पहिचान हो भन्ने गीतमा भनेझैं लताको आवाज नै उनको वास्तविक पहिचान हो र त्यो अमर रहनेछ। सन् १९४९ मा पहिलो पटक उनले ‘महल’ फिल्मको लागि ‘आएगा आनेवाला’ बोलको हिन्दी गीत गाएकी थिइन्। त्यसपछि उनको सांगीतिक यात्राले गति लिएको थियो।

‘मजबुर’, ‘आवारा’, ‘मुगल ए आजम’, ‘अराधना’ देखि ‘दिलवाले दुल्हनिया लेजाएंगे’ जस्ता रोमान्टिक गीतमा उनको स्वर रूचाइएको थियो।  मोहम्मद रफीदेखि किशोर कुमारसँग उनले आवाज दिएकी थिइन्। त्यसताका उनी मोहम्मद रफीले भन्दा बढी रोयल्टी र पारिश्रमिक पाउने गायिकाको रूपमा परिचित थिइन्। उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शोक प्रकट गरेकी छन्।

नेपाली संगीतको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गरेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’ लताको सम्मानमा भारत सरकारले दुई दिने शोकको घोषणासमेत गरेको छ।

लताले गाएका नेपाली गीत ‘जुन माटोमा मेरो’, ‘आकाशको मिर्मिरे’, ‘बाँचुन्जेलीलाई’ लगायत चर्चित छन्। उनीसँग सहकार्य गर्न प्रयासरत संगीतकार शम्भुजीत बाँस्कोटाले उनलाई स्मरण गर्दै भने, ‘दुईवटा फिल्ममा उहाँको लागि भनेर गीत कम्पोज गरेको थिएँ। उहाँसँग काम गर्ने रहर थियो।

निकै प्रयास गरे पनि सम्भव भएन। पहिलो पटक विदेश भ्रमणमा हुनुहुन्थ्यो भने दोस्रो पटक अस्वस्थ हुनुभएको थियो।’ ‘चेलीबेटी’ फिल्मको ‘तिम्रो आँखाको सागर’ बोलको गीत लता र नारायणगोपालका लागि कम्पोज गरिए पनि पछि आशा भोस्ले र प्रकाश श्रेष्ठले गाएका थिए। त्यस्तै ‘एउटा मान्छे मन पर्छ’ बोलको गीत उनले लताको लागि कम्पोज गरेका थिए। त्यस्तै ‘प्रेमपिण्ड’ फिल्मको ‘सपना हो यो भनेदेखि’ बोलको गीत उनले लता र नारायणगोपाललाई सँगै गाउन लगाउने योजना बनाएका थिए।

पछिल्लो पटक २०६८ सालमा लताले रामकृष्ण ढकालसँग ‘बाँचुन्जेलीलाई’ बोलको गीत गाएकी थिइन्। झन्डै चार दशकको अन्तरालमा उनले मविवि शाहले लेखेका दुईवटा गीतपछि नेपाली गीत गाएकी थिइन्। नेपाली गीतबारे लताले प्रतिक्रिया दिएकी थिइन्, ‘धेरैपछि नेपाली गीत गाउने अवसर मिल्यो। यो गीत गाउने गायकको आवाज र गाउने स्टाइल मन पर्‍यो। यसअघि महाराज (मविवि शाह) ले लेखेका गीत गाएकी थिएँ।’ आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको ‘बाँचुन्जेली’ बोलको गीत रेकर्ड हुन लामो समय लागेको थियो।

मुम्बईमा संघर्ष गरिरहेका संगीतकार शिखर सन्तोषले लतासम्म गीतको प्रस्ताव पुर्‍याउन निकै मेहनत गरेका थिए। ‘सुरूमा उहाँको भतिजमार्फत गीत गाउने प्रस्ताव पुग्न वर्षौं लाग्यो,’ संगीतकार सन्तोषले स्मरण गरे, ‘गीत र मेरो बायोडाटा हेरेपछि उहाँलाई रामकृष्ण ढकालको जीवन संघर्षको कथा र गीत सुनाएँ। त्यसपछि बल्ल रियाज गर्न राजी हुनुभएको थियो। सो दौरान उहाँले पशुपति दर्शन गर्न आउने इच्छासमेत सुनाउनुभएको थियो।’ (एजेन्सीको सहयोगमा)

प्रकाशित: २४ माघ २०७८ ००:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App