कला

म बसेको मुटु अचेल कसलाई दियो होला

माया उपाध्याय

मुक्तक

 

१) मुक्तक

गहिरो घाउ अझै चलाई चोट दिंदै गर्नुहोस्,

खुसी मिल्नेछ हजुरलाई चोट दिंदै गर्नुहोस्।

प्रयोग गर्नुहोस् भएभरको शक्ति लगाएर,

अचानो हुँ दुख्दैन मलाई चोट दिंदै गर्नुहोस्।

     २) मुक्तक

कमाउँछु भनेर धन परदेश गएको छ,

सुन्दर बनाउन जीवन परदेश गएको छ।

निश्चिन्त भएर घरव्यवहार सम्हाल तिमी,

ए मुना, तिम्रो मदन परदेश गएको छ।

      ३) मुक्तक

हुँदै नहुने कुरामा आस नदिलाउनु होला,

चिप्लो घसेर बोलीमा मिठास नदिलाउनु होला।

आकाशको तारालाई आकाशमै बस्न दिनुहोस्,

झुटा कुरा गरेर विश्वास नदिलाउनु होला।

    ४) मुक्तक

मानसपटलमा बसेको तस्वीर भुलाउने औषधि हुन्न भने,

धाउनु किन अस्पताल आखिर भुलाउने औषधि हुन्न भने।

केका लागि वैद्य–डाक्टर किन गर्नु धनको सत्यानाश?

विचलित मनका दुःख–पीर भुलाउने औषधि हुन्न भने।

    ५) मुक्तक

कहाँ होला यतिञ्जेल कसलाई दियो होला,

मिलाएर तालमेल कसलाई दियो होला।

सोध्न मन छ तिमीबिना बाँच्दिनँ भन्नेलाई,

म बसेको मुटु अचेल कसलाई दियो होला।

प्रकाशित: २२ माघ २०७८ ०७:३८ शनिबार

अक्षर