कला

आमनागरिकको स्वर ‘घाम फुल्ने याम’

सूर्य लाकोजूको पाँचौँ कविता संग्रह ‘घाम फुल्ने याम’भित्र पसेर म विद्यमान अवस्था पढ्दैछु, देशको अवस्थालाई नजिकबाट हेर्दैछु, युवाको प्रतिनिधि आवाज सुन्दैछु, सत्तासीन महामहिमको अधिनायकवाद भोग्दैछु, तिहार किन्न झरेकी बूढी आमैको गरिबीलाई बुझ्दैछु, आशा निराशा, भरोसा र असन्तुष्टिको माझ फेरि ऋतुराजको अपेक्षामा हरियाली खोज्न थाल्छु– ‘मान्छेको जीवनमा वसन्त रोप्न आउँछ घाम फुल्ने याम’। हो, त्यो आउने छ। कवि त्यसमा ढुक्क छन्।

प्रेम, विश्वास, सद्भाव र समर्पण यी जीवनका आदर्श मूल्य हुन्। त्यसैले होला आरम्भमै उनले बुबालाई सम्बोधन गरेका छन्। अन्ततः आमाको चरण स्पर्श गरेर उनी रोकिएका छन्।

वर्तमानको समग्रता नै लाकोजूका कविता हुन्। प्रेम, विश्वास, अपेक्षा, आक्रोश, अविश्वास असन्तुष्टि उनका कवितामा आएका छन्। वर्तमान राजनीतिक व्यवस्था र सत्ताको मोहमा परेका निकृष्ट वर्गप्रति ठूलो गुनासो छ उनको। देश र जनतालाई छलछाम गर्ने र आफू ऐश्वर्य भोग गर्ने महोदयका गुट उपगुटले आज नेपाली भूमि नै निराश छ, उदास छ, असहाय छ। तिनैको विद्रोह नै सिर्जनाको मूल बनेको छ। हजारौं लाखौं स्रष्टा यही आक्रोशमा कवि बनेका छन्। मनका उकुसमुकुस भावना पोखिँदा कविता बनेका छन्।

सालिक, युगपुरुष जन्माउन बाँकी छ, ख्वामित, के तिमीसँग उत्तर छ ?, गुलियो विष, धीरता भूमिगत भएको छ, मोज गर्नुछ जस्ता कविता आज लेखिनुपर्छ। माली नै कोपिलाको हत्यारा भएको छ। कलमको शक्तिले त्यसलाई अब गलहत्याउनुपर्छ।

त्यसो त उदासीनताको ऊहापोह मात्रै लाकोजूका कतिवा होइनन्। उनी एक आशावादी कवि हुन्, जीवनवादी छन्। शिशिर र हेमन्तलाई पराजित गरी वसन्त आउने, निष्पट्ट अँध्यारोलाई चिरेर बिहानी झर्ने कुरामा उनी निसन्देह छन्। नयाँ वर्ष त्यो पनि आउनेछ। उनी त्यही समयको पर्खाइमा छन्।

जीवनदर्शन उनका कविताको अर्को लक्ष्य हो। भोगाइका क्रममा आउने हरेक कुरा स्विकार्नुपर्छ, सरल बाटो हिँड्नु मात्रै जीवन होइन, पहाड र पर्ततको दुर्लङ्घ्य उकालो चढ्नु पनि हो भन्ने उनको भनाइ छ। ‘जिन्दगी फूल मात्र होइन प्रिय’मा कल्पनाको उडान भर्ने प्रेमिकालाई वास्तविकतामा फर्किन अनुरोध गरेका छन्।

त्यस्तै ‘ओइली झर्ने फूल’मा कवि जीवनको क्षणिकता बोध गर्न पुग्छन्। बुढ्यौलीले छोएपछि हीन भइने हो कि भन्ने त्रास पनि छ उनमा। त्यसैले कविताको शीर्षक नै विवशता राखेका छन्। मानिस विचारले उच्च हुन सक्छ, अरू सम्पूर्ण कुरा तुच्छ देख्ने उनी मान्छे शीर्षकको कवितामा आफ्नो अस्तित्व पहाडजस्तै अटल बनाउने प्रण गर्छन्।

प्रेमको गीत गाउन रुचाउने लाकोजू प्रेमिकालाई पटकपटक ‘तिमी’को सम्बोधन गर्दै विश्वास र समर्पणले झुकेका छन्, जीवनदायिनीको दृष्टिले सम्मान गरेका छन्।

आम नागरिकको स्वर सुसेल्ने लाकोजू शासक वर्गलाई खबरदारी गर्दै रेमिट्यान्स माग्छ, श्रमको मूल्य जस्तो कवितामार्फत प्रहार प्रश्न गर्छन्–

मालिक! कति श्रमिक दिवसको  

शुभकामना मात्र दिइरहेको?

मलाई आफ्नो श्रमको मूल्य  

कहिले दिन्छौ?

नागरिकका यस्ता प्रश्नको जवाफ कहिले दिने हो सरकार? अझै कति लाचार बन्ने हो? अझै कति युवाको रगत पसिनामा सुख भोग गर्ने हो? तिमीले दिएको उत्तर सुन्न यहाँ हजारौँ प्रतीक्षारत छन्,–

टुहुरा बनेका लालाबाला

आफू अडिन कुन जमिन टेक्छन्?

देशको छोरोभन्दा  

पैसा कसरी प्यारो हुन सक्छ?

मनको हरिले प्रश्न गर्छ

तैपनि यो देश

युवाको पसिना माग्दैन

किन रेमिट्यान्स माग्छ?

आर्थिक असमानता बढ्दो छ, तल्लो वर्गका नागरिकले भोको पेटमा भोजन होइन पटुका कस्नुपर्ने बाध्यता यो कसले सिर्जना गर्‍यो? यसको जवाफदेही को हुने हो? अभिभावकविहीन नगरिकले भरोसा कसको गर्ने हो? सरकार ! के तिमी जनताप्रति उत्तरदायी छौ? यिनै प्रश्नको जवाफको प्रतीक्षामा छन् कवि। ‘आँखा बर्साउँछ साउने झरी’मा पनि कुरा त्यही छ। असहाय बाबु आफ्नो गरिबीमा अभ्यस्त हुन नानीहरूलाई यस्तो पाठ सिकाउँछ–

छोरा! दश नङ्ग्रा नखियाईकन

चुल्होमा आगो बल्दैन

हाम्रो घरको भन्छामा  

केही पाक्न

दिनभर बाहिरिनुपर्छ हामी।  

पर्यावरणीय दृष्टिले पनि कवि सचेत छन्। नदी शीर्षकमा त्यो कुरा आउँछ। स्खलित हुँदै गएको मानवीय मूल्य मान्यताप्रति उनी चिन्तित छन्। साइबर जगतले हुलेको जडवादसँग असन्तुष्ट छन्–

मोबाइलले हार्दिकता लुट्यो कि?

मनले कहीलेकाहीँ यस्तै प्रश्न गर्छ।

लाग्छ

सबै एकसाथ छौं

तर कोही कसैको साथमा छैन।  

आफू भएर बाँच्नुमा कवि लाकोजू गौरव गर्छन्। स्वाभिमान बेचेर उत्कृष्ट हुनु छैन मलाई उनी भन्छन्– अरूको पसिनामा पौढेर एक्लो र माथि पुग्नुभन्दा आफ्नै स्वाभिमानमा रमाउँछु। ‘सक्दैन छेक्न’मा त्यस्तै अविचलित भई लक्ष्यमा पुग्ने अठोट गरेका छन्। 

शासक वर्गले आम नागरिकमाथि गरेको घात प्रतिघात, अविश्वास, वर्गीय विभेद, असमानता, विदेश पलायन, मानवीय चरित्रमा आएका दुर्भावना, असन्तुष्टि र आक्रोश नै लाकोजूका कविता स्फुरणको बीज बनेका छन्। त्योभन्दा प्रबल बीज प्रेम, विश्वास, आस्था, आशा र प्रतीक्षा रहेका छन्। उनी एक सशक्त जीवनवादी कवि हुन्। त्यसैले त उनी अनन्त आशावादी छन्– ‘सुनौलो बिहानी आउनेछ प्रिय’ त्यसै भनेका होइनन्।

प्रकाशित: २२ माघ २०७८ ०२:५९ शनिबार

अक्षर