कला

चिसोको कविता

कविता

योगप्रसाद उपाध्याय चापागाईं

 

गएको राति मुसलधार पानी पर्‍यो  

ठूलाठूला घरका छतहरू धरङरङ बजेको सुनिएन  

खरका छाना त छँदै थिएनन्  

तर जस्तापाताहरू उखरमाउलो गरी थर्किए  

किनकि गए राति काठमाडौंमा  

मुसलधार पानी पर्‍यो।

काठमाडौं वरिपरिका

अग्ला र चुच्चो परेका पहाड हिउँले सेतै फुले

नेवार बुढा मान्छेको कपाल जस्तै

अनि ती पहाडबाट बग्दै तल झरेको हिउँ

कतै बाहुन बाजेको निधारमा पोतिएको

वैष्णवी चन्दन जस्तै

हिउँ झरेको दृश्य जोगीको फुलेको दारी जसरी

पृथ्वीको छातीसम्म टल्किएको हो कि होइन?

आज हर्बल चियाका पात ग्रीन टी बेच्न पसल खुलेन

गहनाका सोखिन नारीहरू

कति आए सुन किन्न

चिसो–जाडोमा आच्छु–आच्छु गर्दै

तर, सुनको पसल खुलेन।

खाँटी दूधको चिया बेच्ने पसलहरू खुले  

अनि खुले

आलु,काउली र गोलभेडा बेच्ने सब्जीका पसलहरू।  

चाइनिज र कोरियन कपडा पसलहरूसँग  

प्रशस्त खुलेका छन्

नेपाली ऊनका पहिरन पसलहरू

ढाकाटोपी र गलबन्दी पनि यथेष्टै छन् बजारमा।

आज बैंक र सहकारी ऋणको कारोबार धिमा छ

कुन्नि आजकै मितिमा रिन तिर्न होला

एकदुई जनाको चहलपहल देखियो।

तर,बाटामा तीखा फलामे हतियार बोकेका

जवान मान्छेहरूचाहिं

पिठ्यूँमा झोला बोकेर जाडो पगार्दै

यताउता हिंडिरहे।

गुरुङ्सेनीको उज्यालो अनुहार र मुस्कान जस्तो

सधंै लाग्ने घाम आज देख्दै देखिएन।

तर उनीहरूलाई जाडोले छेकेन,

भरेको छाक टार्न

काम लाउने साहुमहाजन खोज्दै

उनीहरू हिंडिरहे–हिंडिरहे।

पैसा हुनेले आजै किने दोडा किङखाट  

पैसा नहुनेले सोहोर्दै लगे

ओत लाग्न फ्याँकेको पानी कागज।

र मुसलधार पानीले पनि पखाल्यो  

सडक सुकिलो बन्यो।

आज फोहोरको दुर्गन्ध छैन  

चाउरी परेकी बुढी मान्छे जसरी

किच्च परेको छ आजको फोहोर।

नेपाल यातायातले बाबाचोकबाट धरहरा  

लानु–ल्याउनु पनि गरिरहेको छ।  

यात्रुहरू सास फेर्दै छन्

उष्म कार्बनडाइअक्साइडसँग साट्दै छन्  

चिसो अक्सिजन।

सायदै आज जडीबुटीदेखि कोटेश्वरसम्मको

जाम पनि परेन होला।

किनभने

आज मोटरबाइकको ज्यादती छैन।

तर, यो चिसोमा आज कसरी हेर्न सक्छन् र  

काठमाडौंमा शिरको टोपी खस्ने धरहरा?

प्रकाशित: २१ माघ २०७८ १०:५७ शुक्रबार

अक्षर