अनुग्रह राना मगर पुष्प
नयाँ कोट–पायन्ट लाएको देखेर छोराले सोध्यो, ‘बुवा कहाँ जान लाग्नुभएको?’
–‘बजार’ बुवाले जवाफ दियो।
दुई वर्षको छोराले जिद्दी गर्यो,‘म पनि जान्छु नि।’
–अहिले हुँदैन। तिमी सानै छौ। पछि ठूलो भएर जाने नि है।
‘भरे म नानीलाई बिस्कुट ल्याइदिन्छु। ममीसँगै बस्ने है’ भनेर फकाउँदै भन्यो।
विचरा केटाकेटी न हो बिस्कुट भनेपछि अरू कुरा त बिर्सिहाल्छन्।
मुन्टो हल्लाउँदै ‘हस्’ भन्यो।
‘लल बस है’ भनी अलिक पर पुगेको के थियो फेरि पछ्याउन लाग्यो।
‘रामप्यारी, छोरालाई फकाएर उता लैजाऊ त?’ ऊ परैबाटै चिच्यायो।
‘लल हस्’ भन्दै बाहिर आइन् र भन्न थालिन्,‘ बाबू, यता आऊ। तिमी र म घरमै बस्ने। भरे बुवाले बिस्कुट ल्याइदिनुहुन्छ।’
‘हस् आमा’ भन्यो र उता खेल्न थाल्यो। राम निकै पर पुगिसकेको थियो।
अनि पो रामप्यारीलाई झट्टै याद आयो र सोच्न थाल्यो हैन, ‘सधैं बजार जाँदा त हल्काफुल्का साधरण लाएर जानुहुन्थ्यो। आज त पूरै कोट–पायन्ट लाएर ठाँटिएर पो गाको छन् त?’
तुरुन्तै फोन गरी–हेल्लो कहाँ पुग्नुभयो?
–बजार पुग्न लागें। किन नि?
– ए सधैं साधारण कपडा लाएर जाने मान्छे, आज कोट–पायन्ट लाएर जानुभयो अनि .मात्र के भनेको थियो फोनै बन्द भयो।
प्रकाशित: २१ माघ २०७८ ०९:५० शुक्रबार