कला

शिशिरागमन

कविता

लक्ष्मण थापा

उत्तर दिशाको समीरण

शुष्क कठोर हिमकर्णिका बोकेर आएको छ

मृदुल मुस्कान आच्छादित वन तरु लतिका

शुष्क सुस्केरामा अनुदित भएका छन्

पतझडको याम

स्वयं बसुन्धरा पनि

कठोर च्यादर ओढ्न विवश छिन्

कम्पित ओष्ठ, कम्पित मुटु

न्यानो प्रभातीय झुल्को अभिलाषी मन

कटेराको खर तानिरहेको छ

र सल्काइरहेको छ चिसा दाउरामा आगो

एकजोर प्रेमिल हातहरू

सन्ध्या दीपमा तेल थप्न जरुरी छ

आशाहरूको धागो नचुँडियोस्

भरोसाहरूको दीयो ननिभोस्

आलसी मन डेग नचल्दा

खरानी बन्छ सपनाको खरबारी

धवल गिरीको धवल शिखा

प्रदीप्त छ सुनौला आभामण्डलले

तरुण वयका सुनौला लहरहरू

वासन्तिक मौसमका तरु लता मन्जरित

स्वप्नसभा पथका पथिकहरू

पश्चिमाकाशका पक्षीहरू सन्ध्या रमण गर्दैछन्

कठोर शिशिरका

अगणीत रूखा थप्पड खाई

मलिन भेषको शुष्क पत्र म

ताकिरहेको छु शून्याकाशतिर

अन्यमनस्कतापूर्वक

परिवेश पीडाका असिनापानी

थाप्दाथाप्दै उजाडियो तालु

शेष पला हो शिशिरागमन

कुन आडम्बरमा खर्चिनु पुँजी

स्मृतिगर्भमा कुचो लगाई

प्रारम्भ गरूँ कि नवीन अनुष्ठान

उत्तराखण्डमा अखण्डित स्वर्ण आभाका लहरसँगै

लहरिंदै–लहरिंदै जाऊँ कि महासागर तटमा

रागहरूमा अनुरक्त रागी

हर्षको स्रोत बताऊ न ए वैरागी!

प्रकाशित: २१ माघ २०७८ ०१:३९ शुक्रबार

अक्षर