नवराज शर्मा
उनीहरू कुवाभित्र हातखुट्टा चालिरहेका थिए र जेनतेन आफ्नो प्राण जोगाउँदै बाँच्ने प्रयास गरिरहेका थिए। कुवाभित्र छाया देखेपछि शिर उचालेर माथि हेरे। एउटा परिचित अनुहार देखियो। जसलाई नदेखुन्जेल चतुष्पद भन्थे, धारे हात लाउँथे। देखेपछि सम्मोहित हुन्थे, तावेदारी गर्थे र दावेदार भनी सम्बोधन गर्थे।
‘हे नयाँ बिहानीको पर्खाइमा बसेका मेरा बन्धुहरू! म तपाईंरूका लागि आशाको पोको ल्याएको घोषणा गर्छु।’ माथिबाट सुमधुर आवाज आयो। उनीहरू सम्मोहित भए।
‘म तपाईंहरूको सपना पूरा गर्न कुनै कसर राख्ने छैन।’ उनीहरू आशान्वित भए।
‘पहिले पनि उज्यालोका लागि जूनकिरी पठाएँ। तिर्खा मेट्न जलस्रोत देखाएँ।’ दावेदार भन्दै थियो।
तैपनि हामी यथास्थिति मै छौं। हामीलाई कुवाबाट निकाल र उज्यालोतिर लैजाऊ।’ उनीहरूले अनुनय गरे।
दावेदारले कुवाभित्र देखाउँदै भन्यो, ‘ठिक छ। पहिले मलाई त्यो देऊ।’
उनीहरूले त्यो वस्तुतिर हेरे। त्यो उनीहरूको सपना साकार बनाउने साधन ‘आशाको त्यान्द्रो’ थियो भने दावेदारलाई शक्तिशाली बनाउने उनीहरूको सम्मति, अभिमत, मत वा भनौं अस्त्र थियो। उनीहरू आशान्वित देखिए। उनीहरूले त्यो दावेदारलाई पुनः केही नविचारी सुम्पे। मत पाएर मत्त भएको दावेदार मुसुक्क हाँस्यो,‘धन्यवाद! चक्रलाई निरन्तरता दिएकोमा। पाँच वर्षपछि फेरि भेटौंला।’ भन्दै एकएक थान घोषणापत्र उनीहरूतिर हुर्यायो।
उनीहरूले दावेदारलाई पुनः चतुष्पदमा रूपान्तरण भइरहेको देखे।
‘चतुष्पद!’ उनीहरू खिन्न देखिन्थे, ‘तिमीले फेरि छल गर्यौ।’
उनीहरूको मोहभंग भयो।
‘कुवाबाट निस्कने आफ्नो प्रयासले हो। यति जाबो कुरो पनि बुझ्न सकेनौ कुवाका व्याङहरू!’
ऊ बिदाइको हात हल्लाँउदै थियो। उनीहरू कहिले उसलाई कहिले घोषणापत्रको चाङलाई हेर्दै थिए।
प्रकाशित: १९ माघ २०७८ ०७:४५ बुधबार