कृष्णबहादुर बुढाथोकी
मरेर त हेर!
मरेर त हेर मर्न कति गाह्रो हुन्छ!
आफू हाँस्न अरूलाई रुवाउनेहरू हो,
एकफेर रोएर त हेर
रुन कति गाह्रो छ!
तब हेक्का हुनेछ,
आँसुको मोल कति महँगो छ भनेर।
हाँस्न अति सजिलो छ,
हाँसिदिन्छन् सबैसँगै
रुन अति कष्ट हुन्छ,
निचोरिन्छ कलेजो त्यै
ए! अरूको दुःखमा रमाउनेहरू हो,
एकफेर दुःख भोगेर त हेर
दुःखको राप कति असहज हुन्छ होला?
तब याद हुनेछ,
गरीब कसरी बाँचेको छ भनेर।
सुख खोज्ने धेरै हुन्छन्,
दुःख खोज्ने कोही हुन्न
चिथोरिन्छ जिन्दगी नै सकस हुन्छ दुःख भोग्न
धोका दिने धोकेबाजहरू हो,
आफैं धोका खाएर त विचार गर
धोकाको धड्कन कति पेचिलो हुनेरहेछ,
बल्ल थाह पाउनेछौ,
निमुखाले धोका कसरी सहेका छन् भनेर।
धोकेबाज छ संस्कार
धोकै धोका छ संसारभरि
भित्रभित्र जलेको छ उजाड छ वरिपरि
ए! कमाउन मात्र जान्नेहरू हो,
गुमाएर त हेर अपनत्वलाई
गुमाउँदा कति मन दुखाउनुपर्छ
अनि मात्र थाह हुन्छ,
त्याग कति महान् हुन्छ भनेर।
लिनुदिनु प्रकृतिको नियमलाई तोडिदियौ
क्षणिक स्वार्थ पूरा गर्न कर्तव्यलाई छोडिदियौ
ए! अर्कालाई मार्न र मराउनमा रमाउनेहरू हो
आफैं मरेर त हेर,
मर्न कति कष्ट हुनेछ
आफन्तको मृत्यु सहेर त हेर,
मृत्यु कति पीडादायी हुन्छ भनेर
अनि मात्र याद हुन्छ,
कति भावविह्वल बनाउँछ,
शोकाकुल हुनुपर्छ
मृत्युको चोटले रोदनको डाहले
दुःखको मर्म, धोकाको घात,
गुमाउँदाको बेचनी
सबैसबै भोगेर त हेर।
प्रकाशित: १९ माघ २०७८ ०६:५० बुधबार