कला

आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा!

मुक्तक

रमेशचन्द्र घिमिरे  

    १) मुक्तक

रक्षक नै भक्षक भएर आउँछ र दिक्क लाग्छ,

भरिएको देख्नै हुन्न रित्याउँछ र दिक्क लाग्छ।

आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा!

यहाँ त उसले चाखेरै सिध्याउँछ र दिक्क लाग्छ।

    २) मुक्तक

बिस्तारै आफूतिर तान्छ अनि थाहा पाउँछौ,

यो कुलतले कहाँ लैजान्छ अनि थाहा पाउँछौ।

आज पो उसलाई खाँदा रमाइलो र मजा हुन्छ,

हेरिराख, भोलि उसैले खान्छ अनि थाहा पाउँछौ।

   ३) मुक्तक

आफूलाई सधैं त्यागी र दानी  सम्झन्छन्, के छ रहस्य?

नचाहँदानचाहँदै पनि उदार बन्छन्, के छ रहस्य?

धेरै बुझियो कि, कि कत्ति नि बुझिएन अचम्ममा परेको छु,

यो एमसीसी चाहिन्न भन्दा नि लिऊँलिऊँ भन्छन्, के छ रहस्य छ?

     ४) मुक्तक

फाली नभएको हलाको अस्तित्व हुन्छ र?

कलाविनाको गलाको अस्तित्व हुन्छ र?

फेदको वास्ता छैन, टुप्पाको कुरा गर्छौ यार,

गतिलो जगै नभए तलाको अस्तित्व हुन्छ र?

    ५) मुक्तक

अन्यायीहरूका सामु न्यायको आवाज गलिरहेछ,

जसरी पनि देश चल्नु हो, चलेकै छ र चलिरहेछ।

सरकार केही सुन्दैन, देख्दैन र बोल्दैन, किनभने –

ऊ निरो बनेर बाँसुरी बजाउँदै छ, उता रोम जलिरहेछ।

प्रकाशित: १९ माघ २०७८ ०४:४९ बुधबार

अक्षर