कला

पहाडकी आमा

लघुकथा

राजन सिलवाल

‘चार हजार मिटरभन्दा नि बढी पो रहेछ तालको उचाइ’, जीवनले गुगलमा हेर्दै भन्यो।

‘लेक लाग्छ रे कतिलाई,’ ज्योतिले थपी।

शिखाले भनी, ‘मान्छेहरूले सगरमाथा चढेका छन्।’ ज्योतिलाई यस वाक्यले ग्लुकोजको काम ग¥यो।

‘बाटामा होटलहरू पाइन्छन् त?’ ज्योतिले सोधी।

‘होटल नपाए पाल छ हामीसँग। तिमीहरू पालभित्र सुत्नू। म र विवेक पालबाहिर पहरा दिन्छौं।’ जीवनले भन्यो। ती दुइटीले हेराहेर गरे।

गाउँमा होटेल हुने कुरै थिएन। न त होमस्टे पुगेको थियो त्यहाँ। एउटा सानो पसल थियो जहाँ गाउँलेहरू दैनिक उपभोगका सामान्य कुराहरू किन्न सक्थे। हामी त्यो पसल छाडेर उकालो लाग्यौं। ज्योतिले गोडा लतार्न थालिसकेकी थिई। शिखा सय पाइला हिँडेपछि थ्याच्च बस्थी।

‘यो तालले त साँझमा नि फेदी पुग्न मुस्किल छ।’ मैले भनें।

‘जहाँ पुगिन्छ त्यहीं बस्ने।’ ज्योतिले भनी।

‘हिउँपानी पर्‍यो भने कोरोनाले नखाएको ज्यान यहीँ सकिन्छ नि,’ जीवनले भन्यो।

शिखाको झोला माग्दै मैले भनें, ‘लेऊ, म सघाइदिन्छु। यात्रामा बस्यो भने बसेको बस्यै भइन्छ।’

उसको झोल छिनेर म अगाडिअगाडि लागें। मानिस खेद्नु अगाडि लागेर, वस्तु खेद्नु पछाडि लागेर,यो उखान थाहा थियो मलाई।

फेदीभन्दा निकै वर साँझ खस्यो। शिखाहरू आत्तिए। जीवन अघिअघि हिँड्यो। दुइटी बीचमा रहे। म पछिपछि हिंडें। सिमसिम पानी परिरहेको थियो। निकै पर भित्तामा एउटा गोठ जस्तो घर देखियो।

‘भित्र को हुनुहुन्छ? एक रात बास पाइएला?’ जीवनले सोध्यो।

जवाफ आयो, ‘कति जना हुनुहुन्छ? हामीले काठको बेन्ची जस्तामा झोलाहरू बिसायौं।

मैले भनें, ‘जति पैसा लिनुहुन्छ लिनोस्। एक रात निदाउन दिनुहोस्।’

खानाभन्दा भोक मिठो थियो। ओछ्यानभन्दा आतिथ्य अविष्मरणीय। बिहान चार नबज्दै घरधनी दाइले बोलाए, ‘ओई सरहरू, अब उकालो लाग्नु भएन भने घाममा परिन्छ माथि। गारो नमान्नुस्।’

हामी सबै तयार भयौं। मैले भनें, ‘दाइ, साह्रै ठुलो गुन लगाउनुभयो। कति भयो हाम्रो हिसाब?’

उनकी जहानले भनिन्, ‘एकेक गिलास तातो पानी पिएर जानुस्। हाम्रोमा धेरै मान्छेहरू बसेको छ। हामी कसैसँग पैसा लिँदैन।’

शिखाले पस्मिानको आफ्नोे सल तिनको घाँटीमा बेरिदिंदै भनी, ‘पहाडकी आमा! तपाईंलाई यो मेरो चिनो ल?’

प्रकाशित: १९ माघ २०७८ ०३:१४ बुधबार

अक्षर