कला

सम्मान पाउनुभन्दा अघि मर्नुपर्छ यहाँ

मुक्तक

कमला घिमिरे

   १) मुक्तक

रूप र रंग धेरै राम्रो हेरि छान्न सकिएन,

सर्टिफिकेटको जस्तो क्षमता मान्न सकिएन।

आधुनिक र सभ्य मान्छे व्यवहारमा शून्य रहेछ,

झुठा प्रशंसा चलेको रहेछ जान्न सकिएन।

   २) मुक्तक

डिग्रीका सर्टिफिकेट र त्यसको हिसाब लेख्दै गर्दा,

अनुभव साटिएका शिक्षाका किताब पढ्दै गर्दा।

उपयोगमा अब्बल कुन छ छुट्याउन गाह्रो,

व्यक्तिपिच्छे भिन्नै आचरण र नियत देख्दै गर्दा।

    ३) मुक्तक

गन्तव्यमा पुग्न मानसिक रूपमा तयार हुनुपर्छ,

पहिलो पाइला महत्त्वपूर्ण अरू लगातार हुनुपर्छ।

सहयोग गर्नेभन्दा पछाडि तान्ने धेरै हुन्छन् यात्रामा,

आत्मविश्वासले भरिएको सोच बारम्बार हुनुपर्छ।

     ४) मुक्तक

अनुभवले खारिएको यस्तो दिन आउने छ,

जब जीवनको उत्तराद्र्धमा सफलता पाउने छ।

के मूल्य हुन्छ र त्यसको आफू शक्तिहीन हुँदा,

हाँसोखुसीले साथ छोड्दा गुणगान गाउने छ।

      ५) मुक्तक

बाँचुन्जेल अनेक संघर्ष गर्नुपर्छ यहाँ,

सम्मान पाउनुभन्दा अघि मर्नुपर्छ यहाँ।

जीवित हुँदा ‘कठै’ नभन्ने आफन्तले पनि,

श्रद्धाञ्जली शब्द लेख्न अघि सर्नुपर्छ यहाँ।

प्रकाशित: १९ माघ २०७८ ०२:१३ बुधबार

अक्षर