दिव्य गिरी
१) मुक्तक
बिछोडको पीडाले पारिरहेको घात जस्तो,
बेमौसममा परिरहेको त्यो वर्षात जस्तो।
हिजोआज यस्तो लाग्दैछ यो जीवन पनि,
पहेंलो नहुँदै झरिरहेको त्यो पात जस्तो।
२) मुक्तक
छालहरू आउँछन्, ठोकिन्छन् किनारमा,
फर्किन्छन् फेरि सागरमै मिसिन हतारमा।
छालझैं उर्लिएको छातीभित्र के होला?
तिम्रो प्यार हो कि? परेको छु दोधारमा।
३) मुक्तक
कहिले लाग्छ जिन्दगी सधैं मधुमास जस्तो,
कहिले लाग्छ जिन्दगी रित्तो क्यानभास जस्तो।
जब यो छाती पीडाको तापमा जल्न थाल्छ,
तब लाग्छ जिन्दगी साँझको आकाश जस्तो।
४) मुक्तक
चारैतिर सौन्दर्य छरेर फूल फुलेको हेर,
त्यही फूल माथिमाथि भमरा डुलेको हेर।
सुन्दरताभन्दा ठुलो के नै हुन्छ र हजुर,
तिम्रो रूपमा दिलरुवाको मन भुलेको हेर।
५) मुक्तक
जिन्दगीको गोरेटोमा मोड कतिकति,
दुःखसुखको घटाउ र जोड कतिकति।
दिनरात छायाजस्तै आफूसँगै हुन्छ,
जीवनमा मिलन र बिछोड कतिकति।
प्रकाशित: १७ माघ २०७८ १४:३३ सोमबार