कला

आठौं आश्चर्य

कविता

नारायण निर्भय

घाम पश्चिमबाट उदाउँदै थियो

चन्द्रमा पूर्वतिर सर्दै थियो

आगो हिउँ जस्तै चिसो थियो

हिउँ आगो जस्तै तातो थियो

मानिसहरू हाँस्दा रोएजस्ता देखिन्थे

रुँदा हाँसेजस्ता देखिन्थे

खोलाको पानी उकालो बगिररहेको थियो

पानी देखेर माछा भागिरहेका थिए

यो आठौं आश्चर्य थियो।

घरको पेटीमा सुतेको भिखारीलाई

हात समाउँदै

साहुले घरभित्र हुल्यो र,

आफ्नै ओछ्यानमा लगेर सुतायो

एप्रोन फालेर हिडेको डाक्टर

सित्तैंमा अप्रेसन गर्न तम्तयार भयो

शहरमा यस्तो परिवर्तन कसरी भयो?

यो आठौं आश्चर्य थियो

गाडी चढेर पल्लो शहर जाँदा

कन्डक्टरले पैसा मागेन

दुश्मन कहिल्यै बोल्दैनथ्यो

देख्नेबित्तिकै आँखा तथ्र्यो

आज उसैले पहिला बोलायो

हितैषी मित्र फेला पर्याे

देख्नासाथ बोलिहाल्थ्यो

आज मुख फर्काएर हिँड्यो

आँखाहरू दिग्भ्रमित थिए

कालालाई सेतो देखे

सेतालाई कालो देखे  

यो आठौं आश्चर्य थियो

कालो धन थुपारेका भ्रष्टहरू

सदाचारमा फर्केका थिए

बोराका बोरा पैसाका बिटाहरू

बाग्मतीमा फालिरहेका थिए

नोटका बिटाहरूले

बाग्मती नदी थुनिएको थियो

सुन,चाँदी,हिरामोती, गरगहना

चोकचोकमा फ्याँकेका थिए

फ्याँकिएका गरगहनाहरू

महानगरका थोत्रा ट्याक्टरहरूले

बोकिरहेका थिए

यो आठौं आश्चर्य थियो।

सत्तामा हालीमुहाली गरेका नेताहरू

काठमाडौंबाट गाउँ फर्कन

दसैंमा झैं टिकट बुकिङ गरेका थिए

कोहीकोही गाउँ पुगेर

पहिला पिंढीमा फ्याँकेको

थोत्रो चप्पल लगाएका थिए

थोत्रो डोको,कुटोकोदालो खोजेर

खेतबारी खनिरहेका थिए

नेताहरूले

मयलपोसमा  

डोकाभरि गोबर बोकेका थिए

आलो गोबर डोकाको

आँखाआँखाबाट निस्केर चुहिएको थियो

संधै संसद् भवनमा उँघ्ने नेता

गाउँमा गएर रातभरि सुत्यो

यो आठौं आश्चर्य थियो

सुखको खोजीमा गएका

भविष्यका कर्णधारहरू

अमेरिकाबाट भागेर आएका थिए

खाडी पठाउने मेनपावर

सबैसबै बन्द थिए

उल्टै मिया जानहरू

खाडीबाट काम खोज्न आएका थिए

दिउँसै उँघ्ने विधायक

आज मरिहत्ते गर्दा पनि निदाउन सकेन  

चिसो पानी छेपेर उठाउनुपरेन

यो आठौं आश्चर्य थियो। 

चोरहरू सबै गेरुवा वस्त्रमा देखिए

बलात्कारीको पुरुषत्व गुमेर नपुंसक भएको थियो  

देह व्यापारीहरू

हातहातमा चप्पल बोकेर उभिएका थिए

ख्यातिप्राप्त राष्ट्रिय फटाहाका

वाचाल मुखहरू सिलाइएका थिए

तिनको मलद्वार, मूत्रद्वार बन्द गरिएको थियो

कलम बोक्ने पत्रकारले हलो बोकिरहेको थियो  

हलो बोक्ने हलीले कलम बोकिरहेको थियो

शहरको बस्ती

डाँडाहरूमा स्थानान्तरण भएको थियो

शहर खेतीयोग्य जमिनमा परिणत भएर

लहलह खेती झुलिरहेको थियो

देश बदल्ने अठोट बोकेको नेताले

स्वाभाविक रूपमा

टाउकाले टेकेर उभिएको थियो

यो आठौं आश्चर्य थियो।

प्रकाशित: १७ माघ २०७८ १०:०१ सोमबार

अक्षर