कला

प्रेमको झझल्को

लघुकथा

ढाकामोहन बराल

सफा, निलो र खुला नभमा सुकाउन राखिएका कपास जस्तै सेता बादलका टुक्राहरूले देखाउने सुन्दरताको बयान गरेर सकिँदैन। बिस्तारै साँझ पर्दै गएपछि सूर्यले यस्ता सेता बादल र खुलेका हिमालमा सुनका किरण छरेपछिको सौन्दर्य देखेर जो कोहीको पनि परेला बन्द हुन मान्दैनन्।

यस्तै दृश्य हेरेर यस रमणीय ठाउँमा रोमान्चित भएर फेवा किनारमा राखिएका बेन्चमा एक प्रेमिल जोडी बसिरहेका छन्। पानीमा पौडिरहेको माछापुच्छ्रेको सुनौलो प्रतिविम्ब र फेवापारिको रानी वनको हरियाली दृश्य देखेर उनीहरू पुलकित भएका छन्।

प्रियतमका औंलाहरू कहिले प्रेयसीको हातमा कहिले उनको केशमा सलबलाइरहेको छ। यस्तो अलौकिक दृश्य देखेर उनीहरूका नयनहरू प्रफुल्ल छ्न् र प्रफुल्ल नयन जुध्दा अधर मुस्कुराउँछ। बिस्तारै साँझ छिप्पिंदै जान्छ पारि मन्दिरमा सन्ध्याका घण्टा र शंख बज्न थाल्छ्न् भने वारि बाराही घाटमा भजनसहित आरती बल्न सुरु हुन्छ।

प्राकृतिक र सांस्कृतिक सौन्दर्यमा रमाउँदारमाउँदै उनीहरूलाई आध्यात्मिक विश्वासले छुन्छ र शिर झुकाउँछ्न् उतैतर्फ फर्केर जताबाट आएको हुन्छ मंगलध्वनि र दिव्य प्रकाश।

अर्कोतर्फ अघिदेखि फुटपाथपारिको कफी हाउसमा कफी पिउँदै प्रकृतिको सौन्दर्य र सौन्दर्यमा रमाएका जोडीलाई नियालेर बसिरहेका छ्न अधबैंसे जोडी, जसले हालै आफ्ना छोरा–बुहारीलाई अमेरिका पठाएर आफूहरू पोखरा घुम्न आएका थिए। नवयौवना जोडी देख्दा उनीहरूलाई आफ्नै प्रेमको झझल्को आउँछ र त्यतिबेला एक आपसलाई लेखिएको प्रेमपत्र पढेको क्षण सम्झेर गाला राता बनाउँछन्।

प्रकाशित: १७ माघ २०७८ ०६:०५ सोमबार

अक्षर