कला

एकान्तमा

कविता

तारा पराजुली

कोही आउने

कोही जाने

मुलबाटो जस्तै रहेछ एकान्त।

मलाई थाहा भएदेखि नै

उमेरका प्रत्येक पृष्ठहरू

एउटैै जिन्दगीका हजार संस्करण बनेर

एकेक आउँछन् एकान्तमा

कहिल्यै फर्केर नआउने बालापन

आफैंबाट छुट्टिएर गएको समय

सबैसबै आउँछन् एकान्तमा।

बिर्सिएको इतिहास

भेटिएको प्रेमको तस्वीर

च्यातिएका प्रेमपत्र

भत्किएको विश्वासको देवल

प्रिय मान्छेहरूको दिवंगत अनुहार

फेरिफेरि दोहोरियोस् झैं लाग्ने

उल्लासको सुन्दर अध्याय

नफर्कियोस् झैं लाग्ने

दुःखको फेहरिस्त

कहिल्यै नखुलोस् लाग्ने अभावको झ्याल

गल्तीपछिको पश्चात्ताप

लस्करै आउँछन् एकान्तमा।

आकाश छोप्न छोडेर आउँछ

तानाशाह कुहिरो मैमाथि

बिउँझिएर गोप्य समय

सुनाउँदै अनौठो दर्शन

आउँछन् वर्तमान, भूत र भविष्य

एकसाथ एकान्तमा

यी सबैभन्दा पनि धेरै

तिम्रो याद आउँछ एकान्तमा।

प्रकाशित: १६ माघ २०७८ १०:२८ आइतबार

अक्षर