कला

समय

लघुकथा

गोमा सिटौला

आज भान्जीको विवाह थियो। मैले ब्यूटीपार्लर सिकेकीले भान्जीलाई सिँगार्ने जिम्मा आमाजूले मलाई दिनुभयो। भान्जीलाई सिँगार्दै गर्दा २० वर्षअघि आमाजूले वचन लगाएको क्षण सम्झिएँ।

‘जाबो एउटा खड्कुँलो र गाग्री लिएर घरमा भित्रियौ। न गतिलो दराज न गतिलो सोफा नै, जति भने पनि मोरालाई लागेन त्यो बेला’ आमाजूले १२ हात उफ्रेर भन्नुभयो।

‘दिदी, मलाई  दाइजोभन्दा पनि सक्षम बनाएर परिवारले अन्माउनुभयो। के चाहिन्छ घरमा, अब तलब आएपिच्छे बिस्तारै यो घरलाई सिँगार्छु नि है।’

बसभरि दाइजो हालेर मलाई बिदाइ गरेका बाआमाको अहिले नाकै गयो। कत्रो धाक देखाएकी थिएँ देउरानी र जेठानीलाई। अहिले मुख देखाउनै गाह्रो भयो।’ आमाजूले ओठ लेपारेर भन्नुभयो।

मैले मलिनो स्वरमो भनें, ‘केही न केही खोट दुनियाँ लगाइहाल्छ जति नै धुमधाम गरे पनि। त्यो जाबो दाइजो खिया लागेर र मक्किएर गइहाल्छ। तर, दिदी घरमा व्यवहारले कहिले पनि खिया लाग्न नदिने म प्रयास गर्नेछु।’  

‘मेरो छोराको विहेमा ब्यान्ड बाजा र पन्चे बाजा दुवै बजाएर बुहारी भित्याउँछु अनि छोरीको  त कुरै नगरूँ। कम्तीमा  पनि ३ सय गाग्री त होलान् नै अरू खाम र भाँडा त कतिकति।’

–आमाजूले भन्दा ‘दिदी सबै कुराको जवाफ समयले दिन्छ’ भनेका कुरा सम्झिदै थिएँ। त्यही बेलामा आमाजू आएर भान्जीलाई स्वयंवरका लागि दो¥हाएर लेराउन मलाई अराउनुभयो। मैले आमाजूको कम्मरमा झुन्डिएको मास्क निकालेर लगाउन दिँदा आमाजूले ‘झन्झट लाग्छ’ भन्दै नलगाई कम्मरमै घुसार्नुभयो।

आमाजूले असन्तोष पोख्नुभयो, ‘हेरहेर, यो दुनियाँ डराएका जाबो दाइजो दिनुपर्छ भनेर कोरोनाको निहुँमा कोही पनि आएनन्। आफ्नी छोरीलाई हाल्लान् भनेर मैले तिनीहरूको छोरीलाई गतिलो दाइजो हालेकी थिएँ।’

‘एउटा भएको छोरो पनि अमेरिका जान हतार गरेर कोरोनाले गर्दा बाजा न साजाको गुपचुपमा विहे भयो। ६ महिनापछि छोरीको  गर्दा नि यही हाल भयो। हे भगवान्, कस्तो समय आयो!’ आमाजूले रुन्चे स्वरमा भन्नुभयो।  

‘दिदी, समयनुसार चल्नुपर्छ। हाम्रा पालाको जस्तो कुनै नन्दआमाजूले वचन लगाउँदैनन् भान्जीलाई। त्यसैले पीर नमान्नुस् बरु दुनियाँको जस्तापाता बटुलेर अन्माउँदैमा इज्जत कमाइन्छ भन्ने भ्रम त्यागिदिनुस्।’

मैले यति भन्न नपाउँदै आमाजू के सोचेर पो हो मुख रातो बनाउनुभयो र भुईतिर हेर्दै हतारहतार कम्मरमा घुसारेको मास्कले मुख छोप्नुभयो।

प्रकाशित: १६ माघ २०७८ ०८:३६ आइतबार

अक्षर