कला

चमत्कार

लघुकथा

बाबुराम न्यौपाने उत्स

एक विख्यात होटलको कारण एउटा भव्य शहर विश्वव्यापी चर्चामा छ। संसारका ख्यातिप्राप्त व्यक्तिहरू होटलका ग्राहक छन्। कुनै पनि ग्राहकलाई बढीमा दुई घण्टा होटलमा बस्ने अनुमति छ।

होटलको तिलस्मी प्रसिद्धि सुनेपछि हाम्रा नेताहरू पनि भ्रमणको चाँजो मिलाउन थाल्छन्। पहिलो लटमा तीन जना नेताका लागि सरकारी खर्चमा होटल बुक हुन्छ। उनीहरू त्यसतर्फ उड्छन्।

होटलमा पुगेपछि त्यहाँको व्यवस्था देखेर चकित हुन्छन्। उनीहरूलाई होटल अपूर्व सुन्दर युवतीहरूको म्यूजियम जस्तो लाग्छ।

होटलका कर्मचारी सबै युवती मात्र हुन्छन्। ग्राहकहरू आआफ्नो टेबुलमा एकएक सुन्दरीको साथमा बसेका छन्। खाने परिकार केही छैन। उनीहरू झनै आश्चर्यमा पर्छन्।

नेताहरूको छेउमा पनि एकएकओटी सुन्दरी आएर बस्छन्। अब उनीहरू ती कामुक तरुनीहरूको सौन्दर्यमा मोहित भएर रमाउन थाल्छन्।ती युवतीहरू विश्वका कुनै पनि भाषा सजिलै बोल्न र बुझ्न सक्छन्। मानिसको मनका भावना हुबहु पढ्न सक्छन्।

होटलको अर्को विशिष्ट विशेषता भनेको ग्राहक होटलबाट बाहिरिनुअघि नै उसको जीवनकथा विद्युतीय माध्यमबाट संसारभर फैलिसक्नु हो। यो कुरा थाहा पाएपछि भने नेताहरू आतिन्छन्।

उनीहरू युवतीहरूलाई मोटो रकम घुस दिएर उम्कन खोज्छन् तर नेताका मनका कुरा र चरित्र सबै बाहिरिसकेको हुन्छ। उनीहरू झन् फस्दै जान्छन्।

युवतीहरूको रूप कठोर बन्छ। एउटी युवतीले प्रहरीलाई फोन गर्छे। नेता प्रहरीको खोरमा जाकिन्छन्।

नेताहरू आपसमा बर्बराउँछन‘हामी कुन दशाले कुत्कुत्याएर यहाँ फस्न आइपुग्यौं हँ!’  

वास्तवमा होटलका युवतीहरूमा कुनै मानिसलाई छुनासाथ उसको सम्पूर्ण जीवनचरित्र थाहा पाउने अद्भुत शक्ति हुन्छ। तिनीहरू न घुस लिन्छन् न घुस दिन्छन्।

ती सबै युवतीहरू आधुनिक विज्ञानको चरम चमत्कार मानिसको दिमाग र चरित्र पढ्ने वैज्ञानिक ‘रोबोट’ हुन्छन्।

प्रकाशित: १६ माघ २०७८ ०७:३० आइतबार

अक्षर