कला

हरायो लघुकथा

लघुकथा

तारा केसी

टिफिन समय थियो। कक्षाकोठाभित्र बसेर पढिरहेकी थिइन् करुणा। नेपाली सर कक्षाकोठाभित्र पस्नुभयो र सोध्नुभयो, ‘करुणा! तिमी के पढिरहेकी छौ? खोई देखाऊ त?’

करुणाले किताब लुकाई।  सरले फेरि भन्नुभयो, ‘खोईखोई हेरौ?’

करुणा मुसुक्क हाँसी। उसको हातमा एउटा किताब थियो। ‘काला सर्पको खोजी’, लेखक हरिप्रसाद भण्डारी।

–यो त वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीको कृति रहेछ। कसरी पायौ यो किताब?

करुणाले नजर झुकाउदै भनी, ‘दाइले दिनुभएको। उहाँसँग थुप्रै साहित्यिक किताब छन्।’

‘तिमी साहित्यमा रुचि राख्दिरहिछौ। पढ्छ्यौ मात्र कि केही लेख्छ्यौ पनि।’ सरले सोध्नुभयो।

–कहिलेकाहीं छोटा कथा लेख्छु।

–कतै छपाएकी पनि छ्यौ?

–छैन।

करुणाले मुन्टो हल्लाउँदै भनी।

‘उसो भए मलाई एउटा कथा देऊ। म छपाइदिन्छु।’ सरले कथा माग्नुभयो। करुणा ८ कक्षाकी छात्रा थिई।

करुणाको कथा छापियो। सरले पत्रिका दिनुभयो। करुणा खुसीले दङ्ग परी। सरले स्याबासी दिनुभयो र भन्नुभयो, ‘तिमीलाई थाहा छ करुणा! तिमीले लेखेको यो कथालाई लघुकथा भनिन्छ। यो लघुकथा विधाको संरचनाभित्र परेको छ।

कक्षामा उसको चर्चा भयो। बेलुका बाआमालाई देखाउँछु भन्दै कथा किताबमा राखी। स्कुल छुट्टी भयो तर त्यो कथा उसको किताबबाट हरायो। उसले आँखाबाट बर्रबर्र आँसु झारी र जताततै  खोजी तर कथा भेटिएन। उसले मनमनै सोची, ‘गीताले मेरो कथा छापिएकोमा रिस गरिराकी थिई। उसैले पो लगी कि?’

प्रकाशित: १६ माघ २०७८ ०३:५३ आइतबार

अक्षर