कला

एउटा अनुरोध

कविता

चन्द्र रानाहँछा

गौंथली त्यो उडेर गयो?

उसको जीर्ण गुँड त्यसरी भत्किरहेछ...

मेरो ओठमा–

पानीका थोपाहरू जो चुहाइरहेछौ

लौ न तिम्रो हात कस्तरी कापिरहेछ...

सुन!

अब म सिगरेट पिउदिनँ ल!

अब साँच्चै उप्रान्त म रक्सी कहिले पिउदिनँ

मभित्र तिमी जस्तै एउटा सूर्य

मेरै सामुन्ने बिस्तारै डढिरहेछ ...

मभित्र मै जस्तो अर्को पृथ्वी

म जस्तै गरि क्रमश भत्किरहेछ...

मलाई पोल्दैछ

छुटेको प्रीतको बिखले  

स्मृतिका नेपथ्यहरूबाट उठेर

विस्मृतीका भिडहरूबाट फर्किएर

आलिंगन, चुम्बन, संवाद, सपना र ऐठनहरूबाट उभिएर

तिम्रो परेलामा फर्फर–फर्फर हल्लिदै

तिम्रा आवाजहरूमा प्रकम्पित हुँदै

मेरो छातीमाथि सुकेको पात

जसरी फ्यास्स खसिरहेछ...

ए तिमी!

कुन बेला आइपुग्यौ?

बस न!

मेरो स्मरणशक्ति त्यसैत्यसै पग्लिरहेछ ...

मेरा हातगोडाहरू यसैयसै गलिरहेछ ...

ए साँच्चि –

भोकाइरहेका ती कुकुरहरूलाई

अब चिहान खनेर

नबिर्सी मेरो हाडखोर र मासु दिनु

एउटा आवधिक जुनी बाँचिसकेको

म एउटा प्रेमी

म एउटा अभिभावक

म एउटा देशभक्त

म एउटा अपराधी

म एउटा शासित

म एउटा अस्थिपन्जर

म एउटा देह

म एउटा सम्झना

म एउटा कविता

म एउटा ...

अब किताबका प्रत्येक पानाहरू पल्टाएर

खोजीखोजी मेरो नाम मेट्नु।

अब मेरो चौताराको ढुंगा फुटाएर

एउटा कुरूप इतिहास नष्ट गर्नु।

अब त्यो तलामाथिको बाकस खोल्नु

खुकुरीमा लत्पतिएको रगतको

जो काँचो बासना छ

आखिरीचोटि प्रेमपूर्वक सुम्सुमाउनु...।

साँच्चै–

गौंथली त्यो उडेर गयो?

बस न!

प्रकाशित: १५ माघ २०७८ १२:४४ शनिबार

अक्षर