कला

कृष्ण पौडेलको 'विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ घर भई हाल डेनमार्गमा रहेका आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ’विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ। 'मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ', प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ।  

यस पुस्तकमा ढुङ्गेयुगदेखि विधुतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरूसमेत छन्। पुस्तकबारे लेखक पौडेल भन्छन्, 'यस पुस्तकमा मूलतः सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक–सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन्।'

म्याग्दी जन्मिएर डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन्। ’ट्रेड पेपर–ब्याक’ संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुनेछ। पाठकको रुचीअनुसार ’मास मार्केट पेपरब्याक’ कोरोनाको प्रभावपछि सार्वजनिक गरिनेछ। सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ।

प्रकाशित: १५ माघ २०७८ १२:३५ शनिबार