वैरोचनले उन्मनालाई मानसिक आदेश दिए— आज मध्याह्नमा भगवती तटमा आउनू, जहाँ हामीले केही दिनयता एक—अर्कालाई भेट्ने गरेका छौँ।
उन्मना पुग्नुअघि नै वैरोचन घोडा लिएर भगवती तट पुगे। पद्मासनमा बसेर उनले सूर्य त्राटक गरिरहेका थिए।
उन्मना पनि मन बहलाउने हेतुले भगवती तटमा आइपुगिन्। वैरोचनले एकटकले सूर्यलाई हेरिरहेको उनले परैबाट देखिन्। नजिकै बाँधिएको सेतो घोडा देखेपछि यो व्यक्ति वैरोचन नै हुनुपर्छ भन्ने अनुमान उनलाई भयो। साँझ सूर्य अस्ताउने बेला मात्रै हामीले भेट्ने कुरा भएको थियो, यो मान्छे किन दिउँसै यहाँ आयो? र, यो कस्तो साधना गरिरहेको छ? यस्तै जिज्ञासा उत्पन्न भएपछि लुकेर वैरोचनको चियो गर्ने उनले निधो गरिन्।
वैरोचनको अगाडि करिब ६ वर्षका एक बालक दौडँदै आए र आत्तिँदै बोले– मेरी आमालाई बचाउनुस्।
वैरोचन त्राटक गर्दै बोले— तिम्री आमालाई केही भएको छैन, भोकले गलेर ढलेकी हुन्। अस्ति बिहानदेखि उनको पेटमा पानी सिवाय केही परेको छैन। भएको अलिकति खानेकुरा उनले तिमी र बहिनीलाई खुवाएकी थिइन्, मैले खाइसकेँ भनी झूट बोलेर।
त्राटकको साधना रोकेर बालकको दुवै पाखुरामा समाउँदै उनी बोले– तिमीलाई पनि भोक लागेको छ?
भोक लागेको संकेतस्वरूप बालकले टाउको हल्लाए।
पोलेको मासु खान्छौ कि कन्दमूल?
बालक बोले– मासु।
वैरोचनले पद्मासनमै बसेर भगवती तटको निकै तल नियाले, पारिपट्टि मृगको बथानले पानी पिइरहेको थियो। एउटा मृग नदी तरी वैरोचनको नजिकै आएर उभियो। उनले तरबार घुमाएर प्रहार गरे, मृगको घाँटी छिनियो र तरबार वेगले पुनः उनकै हातमा फर्कियो।
आफ्नो भिक्षापात्र बालकलाई दिँदै वैरोचन बोले— बालि ! नदीबाट पानी लगेर आमालाई देऊ र तिमी आऊ। त्यतिञ्जेल मैले यहाँ आगोको व्यवस्था गर्छु।
‘किन्तु, हजुरलाई मेरो नाम कसरी ज्ञात भयो? मलाई चिन्नुहुन्छ?’ बालकले आश्चर्य मान्दै सोधे।
तिम्री आमा बाला निकै तिर्खाएकी छन्, पहिले पानी लगेर उनलाई खुवाउनू। उनी ब्युँझिएपछि तिमी यहाँ आऊ, अनि तिम्रो प्रश्नको जवाफ दिउँला।
जसले हामीलाई जीवन जिउने कला सिकाउँछन्, जीवनको महिमा बोध गराउँछन्— उनीहरू सबै गुरु हुन्। आमा गुरु हुन्, प्रकृति गुरु हो, हाम्रा पुर्खा गुरु हुन् र हामीलाई जीवनको उज्यालो देखाउने कुनै व्यक्तिविशेष पनि गुरु हो।
त्यहाँदेखि केही तल बालिकी आमा बाला डेढ वर्षकी पुत्रीलाई काखमा च्यापेर पल्टिरहेकी थिइन्। काखकी पुत्री निदाएकी थिइन्। बालिले पानी खुवाइदिएपछि बाला ब्युँझिइन्।
माता ! हजुर एकछिन यहीँ पानी पिउँदै बस्नू। म केही खानेकुरा लिएर आउँछु। यति भनेर बालि तुरुन्तै वैरोचन भएको ठाउँमा आए। वैरोचनले मृगलाई पोल्दै थिए। उनले केही टुक्रा पोलेको मासु बालिलाई खान दिए।
बालि बोले— पहिले आमा र बहिनीलाई दिएर आउँछु।
वैरोचन मुसुक्क हाँसे र पर हेरे— बाला छोरीलाई च्यापेर आउँदै थिइन्। नजिक आएपछि वैरोचनलाई प्रणाम गर्नका लागि बालाले छोरीलाई भुइँमा राखिन्। उनीभन्दा अघि वैरोचनले प्रणाम गरे।
प्रणाम फर्काउँदै बाला बोलिन्— हे वीर ! यो असहाय नारीलाई प्रणाम गरेर किन ऋणी बनाउँदै छौ?
हे माते ! यो मातंगीपुरी नगरी हो, यहाँ स्त्रीको पूजा र पुरुषको परीक्षा हुन्छ। मैले मनदेखि नै हजुरलाई सम्मान गरिनँ भने मेरो मनको शक्ति घट्छ र म अस्वस्थ हुन सक्छु। हजुरहरू भोकाउनुभएको छ, पहिले मासु खानुस्।
‘मेरो पुत्र बालिले भन्दै थियो— त्यहाँमाथि हामीलाई चिन्ने एक वीर पुरुष बसेका छन्। यसले तिम्रो वीरता र शक्तिको खुबै बयान गरेको थियो। कतै बालिमाथि छल त भएन? यही सम्झेर म सकिनसकी उठेर आएकी हुँ,’ बालाले आगो छुँदै बोलिन्, ‘यो अग्नि, यो भिक्षापात्र, यो मासु— सबै यथार्थ रहेछ।’
उनीहरूले पोलेको मृग खान थाले। उनीहरूदेखि केही पर बसेर वैरोचनले उन्मनालाई नाम लिएर बोलाए। उन्मना उनको सामु आएर बोलिन्— म त लुकेर बसेकी थिएँ, तिमीले देखेका थियौ?
वैरोचनले उनको प्रश्नको उत्तर नदिई बोले— ब्रह्मपुर राज्यमा रहने बाला यहाँ तिम्रो आमाको शरणमा आएकी हुन्। ब्रह्मपुरमा वर्ण विभेदको अभ्यास चर्को छ। यिनको विवाह एक नीच कुलका पुरुषसँग भएको थियो। माइतीबाट परित्यक्त भए पनि उनी नीच कुलकै पुरुषसँग आनन्दले बसेकी थिइन्। समाजमा यी दुईको जोडी अतुलनीय थियो, त्यही ईष्र्याले समाजका केही व्यक्तिले उनका पतिको हत्या गरिदिए। पतिको हत्या हुँदा बालाको पेटमा सात महिनाकी पुत्री थिइन्। निकै कष्टले उनले पुत्रीलाई जन्म दिइन्। यही वर्ष त्यस राज्यमा अनिकाल परेको छ। वनका कन्दमूल सकिएका छन्, परिश्रम गरेर खाने कुनै बाटो छैन। तर त्यस राज्यका राजा र शासकको बुद्धि पलाएको छैन। उनीहरू दरबारिया सुखसयलमै लिप्त छन्।
खानेकुरा नभएपछि बालाले आत्महत्या गर्ने सोचेकी थिइन्। अन्ततः उनलाई तिम्री आमा शमनाको सम्झना भयो। बालाले शमनाका बारेमा धेरै सुनेकी थिइन्, निकै टाढा भएकाले आउन हिम्मत गरेकी थिइनन्। उनले पटकपटक शमनाको नाम जपेपछि यता शमनालाई पनि बालाको दर्शन भयो। शमनाले मानसिक आदेश दिएरै बालालाई यहाँसम्म ल्याएकी हुन्।
उन्मना ! जाऊ यिनीहरूलाई तिम्री आमासम्म पु¥याएर आऊ, त्यसपछि हामी केही कुरा गरौँला।
वैरोचनका कुरा उन्मनालाई अनौठो लागिरहेको थियो। तैपनि उनी बालालाई लिएर आफ्नो घरमा गइन्। बालाका बारेमा आमालाई वृत्तान्त बताइन्।
शमनाले सोधिन्— यो सब तिमीलाई वैरोचनले सुनाएको होइन?
‘हो, किन्तु हजुरलाई कसरी थाहा भयो?’ उन्मनाले प्रतिप्रश्न गरिन्।
पुत्रीको प्रश्नमा जवाफ नदिई शमना आफ्नो काममा लागिन्। उन्मनालाई आमाले पहिले नै भनेका कुरा सम्झना भयो— मानसिक आदेशको सिद्धि पनि छ र साधनाले धेरै परको वस्तुस्थिति नियाल्न र सुन्न सकिन्छ।
उनी तुरुन्तै वैरोचन भएको ठाउँतिर लागिन्। भगवती तटपारि एउटी बघिनीले डमरुलाई सिकार खेल्न सिकाउँदै थिई। पर केही मृग थिए। बघिनी झुकेर मृगतिर जाँदै थिई, ऊसँगै उसका तीनवटा डमरु पनि आमाजसरी नै जाँदै थिए। वैरोचनले यो दृश्य निकै ध्यानले नियालिरहेका थिए।
‘वैरोचन ! मलाई किन शाब्दिक ज्ञान मात्रै छ? व्यवहार र अनुभवमा ज्ञान किन आउँदैन?’ वैरोचनको समीपमा बसेर उन्मनाले सोधिन्।
किनकि तिमीले साधना गरेकै छैनौ– वैरोचन बोले।
साधना के हो, यो कसरी गर्ने?
पारि हेर, मृगतिर डमरु जाँदै छन्। डमरु अगाडि सरेपछि बघिनी पछाडि बसेकी छे। डमरु शरीर झुकाएर झाडीमा छेलिँदै अगाडि बढिरहेका छन्। साधना यही हो, किन्तु साधनाका लक्ष्य भिन्न–भिन्न हुन्छन्। मानिसको साधनाको लक्ष्य सर्वहितमा हुनुपर्छ।
उन्मना बोलिन्— यो कुरा मलाई आमाले पनि बताउनुभएको थियो। परन्तु, मेरो चेतना खुलेको थिएन। आज तिमीले बताउँदा किन स्पष्ट बुझ्दै छु?
– यी बाघका डमरु सानो हुँदासम्म आमाबाट सिकार खेल्न सिक्छन्, जब बाघ हुर्कन्छ, त्यसपछि उसले आमाको साथ छाड्छ र आफ्नो क्षेत्र बनाउनतिर लाग्छ। मानिसको हकमा विवेक छ, जब मानिस अप्ठेरो परिस्थितिसँग जुध्दै जान्छ, आमा लगायत गुरुलाई सम्झन्छ।
‘गुरु भनेको के हो?’ वैरोचनको काखमा पल्टँदै उन्मना बोलिन्।
– जसले हामीलाई जीवन जिउने कला सिकाउँछन्, जीवनको महिमा बोध गराउँछन्— उनीहरू सबै गुरु हुन्। आमा गुरु हुन्, प्रकृति गुरु हो, हाम्रा पुर्खा गुरु हुन् र हामीलाई जीवनको उज्यालो देखाउने कुनै व्यक्तिविशेष पनि गुरु हो।
उसो भए कला के हो?
– कला जीवनको लय हो। यसले हाम्रो मनलाई आकर्षित गर्छ, आनन्द दिन्छ, जुन आनन्द हामीलाई हाम्रा इन्द्रियमार्फत प्राप्त हुन्छन्।
नजिकैको ठूलो ढुंगालाई औँल्याउँदै वैरोचन बोले— त्यो ढुंगालाई ताछेर, ठोकेर विभिन्न जीवको आकारमा ढाल्न सकिन्छ। त्यसबाट बाघको आकृति निकालियो भने बाघबाट सिकार हुने जीव झस्कन सक्छन्। ढुंगा यही हो, यसबाट नग्न षोडषी बनाइयो भने पुरुषहरूको मनमा एक खालको काम वासनासम्बन्धी तरंग सिर्जना हुन सक्छ। त्यस्तै, यसबाट नग्न बलिष्ठ पुरुषको आकृति निकालिन्छ भने जवान स्त्रीको मनमा एक प्रकारको तरंग सिर्जना हुन सक्छ। ढुंगालाई मूर्तिमा ढाल्नु एउटा कला हो। यहाँ देखिने, छोइने, सुनिने— सयौँ कला छन्, जसलाई मानिसले अभ्यास गर्छ र पूर्णता दिन्छ। कुनै पनि कर्म वा विषयवस्तु कलापूर्ण हुन साधना चाहिन्छ।
यी देखिने, छोइने र सुनिनेभन्दा पर पनि अर्को कला छ, त्यो हो— जीवन जिउने कला, जसले जीवनको अस्तित्वबोध गराउँछ। जीवन जिउने कलासम्म पुग्न देखिने–छोइने–सुनिने कलाको माध्यम भएरै अगाडि बढ्नुपर्ने हुन सक्छ। जीवनको अस्तित्वबोध हुनु नै जीवनको सौन्दर्य हो। र, जीवनको अस्तित्वबोध सहअस्तित्वसँग जोडिएको छ।
अर्को कुरा, यो ढुंगा स्वयंमा एक अस्तित्व हो। यसलाई यही अवस्थामा कुनै अर्को विषयको प्रतीक मानेर पनि मानिसको मनमा केही तरंग सिर्जना गराउन सकिन्छ। एकै वाक्यमा भन्नुपर्दा— मान्छेको मनलाई बलियो बनाएर सहअस्तित्वको बोधतर्फ लैजान जसले सक्छ, उही गुरु हो।
उन्मनाले वैरोचनको प्रवचनका कति कुरा एकैपटकमा बुझिनन्, उनले नबुझेका ठाउँमा दोहो¥याइ–तेहे¥याई सोधिन् र केही शान्तिको अनुभव गरिन्।
साँच्चि, मैले खानेकुरा ल्याएकी छु नि ! तिमीलाई भोक लाग्यो होला भनेर— उन्मनाले कपडाले बेरेको एउटा पोको खोलिन्। उनले चामललाई गाईको घिउमा पकाएर कसौँडी नै बोकेर ल्याएकी थिइन्। खाना चिसो भएको थियो। उनीहरू दुवै मिलेर आगो बाली खाना तताए र दुवैले एउटै टपरीमा खाना खाए।
खाना खाइसकेपछि वैरोचन बोले— तिमीले मेरा लागि खाना ल्याउनु पनि सहअस्तित्व बोधको एक अंश हो।
– एक अंश मात्रै?
हो, एक अंश। तिमीले त आफूले प्रेम गर्ने पुरुषको चिन्ता गरेकी हौ। हेर, हामीले यहाँ अघाउने गरी खाइरहँदा ब्रह्मपुर राज्यमा अनिकाल परेको छ।
अहो ! उनीहरूका लागि केही अन्न लिएर हामी जाउँ न !
तिमी यसरी भावुक नबन। त्यहाँ वर्ण विभेद छ। उच्च वर्णका भनिएका भोकले मरिहाल्ने अवस्था आएको छैन। ठूलाबडाको सेवा र तल्लो तहको काम गर्ने नीच वर्णका भनिएका मात्रै अभावमा छन्। उनीहरूलाई सहयोग गर्न मेरो आश्रमबाट केही शिष्य गइसकेका छन्। त्यहाँ अभावमा रहेकालाई खाना दिएर मात्रै हुँदैन, पहिले त्यहाँको वर्ण विभेद हटाउनुपर्नेछ।
उन्मना ! हिँड आज मेरो आश्रममा जाऊँ।
आमासँग बिदा मागेर आउँछु– उन्मना बोलिन्।
– पर्दैन। भरे म कुनै शिष्यमार्फत खबर पठाउँला। यसै पनि तिम्री आमालाई तिम्रो पल–पलको अवस्था अवगत नै छ।
उनीहरू दुवै घोडा चढेर वैरोचनको आश्रमतर्फ लागे।
०००
भगवती नदीको मुहानदेखि दायाँतर्फको डाँडामा वैरोचनको आश्रम थियो। भगवती नदीदेखि कुलो लगेर डाँडाभरि खेती गरिएको थियो। वैरोचन बस्ने कुटीअगाडि विभिन्न फलफूलको बगैँचा थियो, बगैँचाको बीचमा प्रवचन कक्ष। प्रायः बिहान र साँझ वैरोचनले यही कक्षमा प्रवचन दिने गर्थे।
सूर्य अस्ताउने बेला उन्मना र वैरोचन आश्रम पुगे। शिष्यहरू उपस्थित भएर वैरोचन र उन्मना दुवैलाई प्रणाम गरे।
वैरोचन बोले— यिनी मातंगीपुरी नगरीकी उन्मना हुन्। केही दिन यिनी यहाँ मेरी शिष्याको रूपमा रहनेछिन्। अब मैले स्नान गरेर सबैलाई प्रवचन दिनेछु, तयार हुनू।
त्यहाँ रहेका अन्य शिष्याले उन्मनाका लागि पनि स्नानको व्यवस्था मिलाए। स्नानपछि वैरोचन प्रवचन कक्षमा आए। सबै शिष्य अनुशासनपूर्वक बसिरहेका थिए। उन्मनालाई अतिथि आसनमा राखिएको थियो। अप्ठेरो महसुस गरी उन्मना अन्य शिष्यसँगै बस्न गइन्।
वैरोचन बोले– केही दिनकी अतिथि भनेर तिमीलाई त्यहाँ राखिएको हो। जहाँ सहज लाग्छ, त्यहीँ बस।
उन्मना यहाँ आएको खबर यिनकी आमालाई पु¥याउनुपर्नेछ। तिमीहरूमध्ये कोही दुईजना मातंगीपुरी जानुपर्ने भयो।
एक शिष्या र एक शिष्य उठेर बोले– महात्मा ! हामी जान्छौँ।
मातंगीपुरी नगरीमा लोभमोहमा रहेको पुरुष सहजै प्रवेश गर्न सक्दैन। तिमी जान्छौ भने, एउटा विधि गर्नुपर्ने हुन्छ।
‘के विधि महात्मा?’ शिष्यले विनम्रतापूर्वक सोधे।
मातंगीपुरीलाई एक रजस्वला रेखाले घेरिएको छ। रजस्वलाको रगतलाई नै निधारमा तिलकका रूपमा लगाएर जाने पुरुषले त्यस रेखालाई नाघ्न सक्छ, नत्र रगतै छादेर उसको मृत्यु हुन सक्छ। यो अत्यन्तै गोप्य ज्ञान हो, यसलाई गोप्य राख्नू।
शिष्य बोले– महात्मा ! आज हाम्रो आश्रममा रहेका दुई शिष्यालाई रजस्वला भएको छ। यो विधि पुर्याउन कठिन छैन।
उनीहरू विधि पुर्याएर मातंगीपुरीतर्फ लागे।
मातंगीपुरीलाई एक रजस्वला रेखाले घेरिएको छ। रजस्वलाको रगतलाई नै निधारमा तिलकका रूपमा लगाएर जाने पुरुषले त्यस रेखालाई नाघ्न सक्छ, नत्र रगतै छादेर पुरुषको मृत्यु हुन सक्छ। यो अत्यन्तै गोप्य ज्ञान हो, यसलाई गोप्य राख्नू।
त्यसपछि वैरोचनले प्रश्नोत्तरबाट प्रवचन सुरु गरे– तिमीहरूसँग केही प्रश्न छन्?
शिष्य कोही बोलेनन्। वैरोचनले उन्मनालाई सोधे– तिमीसँग केही जिज्ञासा छन् कि?
– महात्मा ! मसँग जिज्ञासै जिज्ञासा छन्, कहाँबाट सुरु गरौँ भन्ने अन्योल भयो। मेरी आमाले शब्दशक्तिका बारेमा चर्चा गर्नुभएको थियो। तर, मैले ध्यान दिएर सुनिनँ। अहिले मलाई शब्दशक्तिका बारेमा जान्न जिज्ञासा भइरहेको छ।
वैरोचन बोले— शब्द माध्यम हो, यो भौतिक दुनियाँलाई बुझ्ने। र, शब्द मान्यता पनि हो। कागती अमिलो छ। अमिलोपन यसको गुण हो, स्वभाव हो। यसको नाम लिनेबित्तिकै एकपटक यसलाई चाखिसकेकाहरूको मुख रसाउन पुग्छ, यसको नाम कागती नराखेर गोबर राखेको भए पनि। शब्द हाम्रो इन्द्रियसँग जोडिएर विश्वास बनेपछि मात्रै शक्ति बन्ने हो। शब्दले वस्तु तथा घटनाको भावलाई व्यक्त गर्न सक्छ। जस्तो: सम्भोग शब्द एउटा घटना वा क्रियाको नाम हो। सम्भोग गर्दा आनन्द आउँछ भनिन्छ, यहाँ आनन्द शब्द अनुभवसँग जोडिएको छ। सम्भोग गर्दा हामीले जस्तो अनुभव गरेका हुन्छौँ, त्यसलाई ‘आनन्द’ शब्दको प्रयोग नगरेर ‘पीडा’ शब्दको प्रयोग गर्दै आएको भए आज सम्भोग गर्दा पीडा आउँछ भनिरहेका हुन्थ्यौँ। त्यस्तै, सम्भोगको ठाउँमा अर्कै शब्दको प्रयोग गर्न पनि सक्थ्यौँ। एउटै शब्द वा वाक्यले विभिन्न अर्थतिर संकेत गर्न सक्छ।
यद्यपि शब्दको उत्पत्तिको आफ्नै धरातल छ, त्यसमा हाम्रा पुर्खाको एउटा अभ्यास र मान्यता रहेको छ। यस विषयमा, सबैभन्दा महŒवपूर्ण कुरा यो हो— हामीले शब्द उच्चारण गर्न सकेका छौँ। यसका पछाडि हाम्रा पुर्खाको ठूलो अभ्यास र साधना हुन सक्छ। त्यसैले शब्दको गरिमा निश्चय नै विराट छ। के तिमीहरूले मेरो आसय बुझ्यौ?
आश्रममा स्त्री–पुरुष गरी चार सयजति शिष्य थिए। गुरु बोलेको सुनिँदैन कि भनेर सबै शान्त र स्थिर थिए। त्यहाँ वैरोचन बोलेकोबाहेक पुतली उडेको आवाज पनि सुनिन्थ्यो। गुरुको प्रश्नमा सबैले बुझेको भाव वा शब्द व्यक्त गरे।
प्रवचनपछि गुरुले सबैलाई केहीबेर प्राणायामको अभ्यास गराए। त्यसपछि गुरु–शिष्य सबै मिलेर साँझको भोजनको व्यवस्था गर्नतिर लागे। आ–आफ्नो रुचि र स्वाद अनुसारको भोजन तयार भयो। भान्छा कक्षमा सबै लहरै बसी खाना खाए।
खाना खाएपछि कोही बगैँचातिर डुले, कोही आगो बालेर नाचगान गर्नतिर लागे– यसका लागि निश्चित समय तोकिएको थियो।
यही दैनिकीमा उन्मनाले वैरोचनको आश्रममा निकै दिन बिताइन्। यो बीचमा केही शिष्यशिष्या थपिएका थिए, केही गुरुबाट दीक्षा लिएर बिदा पनि भए।
एक बिहान वैरोचनले नयाँ शिष्यशिष्यालाई प्रवचन दिने क्रममा सोधे— एउटा मृगलाई बाघले लखेटिरहेको छ। मृग अगाडि र बाघ पछाडि कुदिरहेका छन्। तिमीहरूले यो दृश्यलाई नियालिरहेका छौ, अब भन— तिमीहरू बाघले मृगको सिकार गरोस् भन्ने चाहन्छौ कि मृग भागेर बाँचोस् भन्ने चाहन्छौ?
एक शिष्या र एक शिष्यबाहेक सबैले भने– मृग भागेर बाँचोस् भन्ने चाहन्छौँ। त्यसपछि वैरोचनले नयाँ शिष्यशिष्यालाई प्रश्नोत्तर शैलीमै प्रवचन दिए।
प्रवचन सकिएपछि वैरोचनले उनै शिष्यालाई आफ्नो कुटीमा बोलाए, जसले बाघले मृगको सिकार गरोस् भनी इच्छा व्यक्त गरेकी थिइन्।
राजकुमारी हिमाद्रि! उसो भए बाँच्नका लागि बाघले मृगको सिकार गर्नैपर्छ, होइन त?
गुरुले आफ्नो नाम सम्बोधन गरेपछि हिमाद्रि झसंग भइन्।
ब्रह्मपुर राज्यमा नीच वर्ण भनिएका र शासकको उत्पीडनमा परेकाले विद्रोह गरेका थिए। उनीहरूको विद्रोहमा शमना र वैरोचनका शिष्यले पनि सघाएका थिए। १० दिन चलेको विद्रोहबाटै ब्रह्मपुरका राजा विष्णुभक्तले सिंहासन छाडे। त्यसपछि त्यहाँ गणराज्यको अभ्यास सुरु भयो, लोकले निश्चित समयका लागि छानेका व्यक्ति शासक भए।
राजा विष्णुभक्त र उनका सन्तान भने पुनः सत्ता हत्याउने असफल प्रयासमा थिए। सोहीअनुरूप एउटा चाल स्वरूप विष्णुभक्तकी पुत्री हिमाद्रि वैरोचनको आश्रममा आएकी थिइन्। राजकुमारी भेष र परिचय बदलेर आफ्नो आश्रममा आएको खबर वैरोचनलाई प्राप्त भइसकेको थियो। राजकुमारीलाई चिन्नकै लागि वैरोचनले बाघ र मृगको कथा बुनेका थिए। साधारण कुलका प्रायः मानिस लक्ष्यप्रति त्यति स्पष्ट हुँदैनन्, उनीहरूमा दयामाया र आक्रोशको भावना प्रबल हुन्छ। साधारण कुलकै भए पनि लक्ष्यप्रति स्पष्ट हुने व्यक्ति असाधारण हुन्छ, अथवा ऊ असाधारण पीडा वा उत्पीडन खेपेर आएको हुन्छ।
वैरोचनलाई राजकुमारी हिमाद्रिलाई चिन्न समय लागेन— बाघले मृगको सिकार गरोस् भनी इच्छा राख्ने व्यक्ति कि शासक कुलकै हुनुपर्छ, कि कुनै विशिष्ट लक्ष्य लिएको व्यक्ति हुनुपर्छ।
वैरोचनले भने– हिमाद्रि ! यो आश्रमको एउटा नियम छ, त्यो नियममा रहेर अन्य शिष्यशिष्यासँग मिलेर बस्नू। तिमीलाई मेरो आश्रममा स्वागत छ। तर, तिमीले आफ्नो परिचय लुकाएरै बस्नू।
केही दिन बित्यो। एक दिन वैरोचनले हिमाद्रिलाई सोधे– किन तिम्रो परिवारले आफ्नो शासन फिर्ता लिन चाहन्छ?
‘आफ्नो राज्यका नरनारीलाई सुखशान्ति दिन,’ हिमाद्रिले जवाफ दिइन्।
तिमीहरूको शासनमा सबैलाई सुखशान्ति थियो?
– थियो। सबै राम्रै थियो।
उसो भए जनताले किन विद्रोह गरे?
– उनीहरूलाई आफू राजा हुन मन लागेको होला !
त्यहाँ अहिले कोही एउटा व्यक्ति वा परिवारले आफू राजा हुन्छु भनेको छ?
– छैन। अहिले त गणराज्य बनाएर निश्चित समयका लागि राजा छानेका छन्।
के यो नराम्रो भयो?
‘हामीले शासन गरेको के नराम्रो थियो र?’ हिमाद्रिले प्रतिप्रश्न गरिन्।
केही दिनपछि वैरोचनले उन्मना, हिमाद्रि लगायत केही शिष्यलाई लिएर शिवपुरी राज्यमा गए। उनीहरूले केही भोजनको व्यवस्था गरेर हिँडेका थिए। शिवपुरी राज्यको एउटा गाउँका दीनदुःखीलाई भोजन गराउने कार्यक्रम थियो।
वैरोचनले आदेश दिए— सबै भोकालाई एउटै रेखामा उभ्याएर पालैपालो भोजन गराउनू। उनको आदेश र योजनाअनुरूप भोजन गराउन थालियो। भोजनका लागि सबैभन्दा पछाडि उभिएका भोकाहरू भकाभक ढल्न थाले। ढलेकालाई मात्र उठाएर भोजन गराइन्थ्यो। नत्र आफ्नो पालो कुर्नैपथ्र्यो।
यो दृश्य देखेपछि हिमाद्रिले सहन सकिनन् र वैरोचन सामु गई रिसाएर भनिन्– यो कस्तो नियम बनाएको गुरु? पाँच–सातवटा रेखामा मानिसलाई उभ्याउन सकिँदैन। सबैभन्दा भोका बालबालिका, स्त्री, वृद्धवृद्धालाई प्राथमिकता दिएर पहिले भोजन गराउन सकिँदैन?
वैरोचनले उनलाई एकान्तमा लगे र स्मित हाँसोसहित बोले— सकिन्छ। के तिम्रो परिवारको शासनकालमा तिमीले अहिले भनेजस्तै नियम र व्यवस्था थियो? राज्यबाट दिइने सेवा–सुविधा राज्यका सबैलाई समान किसिमले वितरण गरिएको थियो? तिम्रो राज्यमा बदल्नुपर्ने नियम थिएनन्?
हिमाद्रि बोलिन्– गुरु ! मैले हजुरको आसय बुझेँ। के यत्रो योजना मलाई शिक्षा दिनैका लागि बनाउनुभएको हो? धन्य गुरु !
त्यसपछि वैरोचनको आदेशमा सातवटा रेखा बनाएर भोजन गराइयो।
उन्मनाले यी सबै घटनालाई नजिकबाट नियालिरहेकी थिइन्। विशेषतः वैरोचनले हिमाद्रिलाई गरेको व्यवहार उनलाई ज्ञात थियो।
उनले एकान्तमा वैरोचनलाई भेटेर मनमा लागेका जिज्ञासा राख्थिन्। जीवन, जगत् राज्य–समाज, नियम, नैतिकता आदिबारे उनको ज्ञान र बोध खुल्दै गएको थियो। त्यहाँ गएदेखि वैरोचन र उन्मनाको नाता सम्बन्ध गुरु र शिष्यामा बदलिएको थियो। उन्मनालाई भने भित्रभित्र वैरोचनको प्रेमिका वा पत्नी भएर रहने इच्छाले डसिरहेको थियो।
दीनदुःखीलाई भोजन गराएर आश्रममा फर्केपछि उन्मनाले एकान्तमा रहेका वैरोचनसँग आफ्नो इच्छा व्यक्त गरिन्।
वैरोचन बोले— यो तिम्रो मोह हो कि आवश्यकता? यसबारे पनि म तिमीहरूलाई बुझाउँदै जानेछु।
(कथा सकिएको छैन, यसको अर्को भाग छिटै प्रकाशित हुनेछ।)
यो पनि पढ्नुस्ः
https://nagariknews.nagariknetwork.com/arts/721271-1642812599.html
प्रकाशित: १५ माघ २०७८ ०२:४८ शनिबार