कला

विकार

लघुकथा

खेमलाल पहारी

विद्यालयमा त्यस दिनको नियमित पठनपाठन सकिएको थियो। नानीबाबुहरू पातलिइसकेका थिए।

विद्यालयको एक चक्कर काटेर हैन यी केटाहरू घन्टीपिच्छे शौचालय किन जान्छन् हँ  भन्दै प्राचार्य अफिसमा पस्दै थिए। हतारहतार हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर घर कुद्न पालो कुरेका युवा शिक्षकहरू साँप्रा ठटाएर हाँस्न थाले भने शिक्षिकाहरू मुख छोप्दै बाहिरिए।

यो देखेर जिल्ल परेका प्राचार्यलाई दिवाकर सरले प्रतिप्रश्न गरे, ‘हजुर बेलाबेलामा किन जानुहुन्छ नि?’

–सिधा उत्तर छ, केटाहरूको चियो गर्न। अर्काले हाजिर जवाफ फर्काए।

कार्यालय कक्षमा हाँसोको फोहोरा छुट्यो। प्राचार्य ट्वाँ परेर सबैलाई पालैपालो हेर्न थाले। त्यसैबेला बाहिरबाट कसैको मसिनो आवाज आयो, ‘कोही शरीरको विकार विसर्जन गर्न शौचालय जान्छन् त कोही मनको। फरक यत्ति हो, एकथरी आफूलाई हेरेर जान्छन् र बाँकी अरूलाई।

प्रकाशित: १४ माघ २०७८ १४:२० शुक्रबार

अक्षर