कला

तन्नामे

लघुकथा

निरज कोइराला

‘ए, काजी छोरीको बिहे गर्ने बेला भएछ। लु बिहे गरिदिनुस् डिग्री पढेको, दुःख भोगेको टुहुरो कमलप्रसादसँग।’ भनेर ठाइँला बाले कुरा कोट्याए।

काजी रामप्रसाद राँकिएर बोले,‘त्यस्ता तन्नामेको कुरा कोट्याउन लाज लागेन ठाँल्दाइ। एक मानो खाने बन्दोबस्त नभएको कमले? तिमी खुरुक्क बाटो लागिहाल। आफूभन्दा उमेरमा ठूलै भएर मात्र नत्र पड्काइदिन्थें।’

केही दिनमा रामप्रसादको इच्छा पुग्यो। बन्दोबस्तीको मान्छे भेटियो। धौ फुकाएर ठेकदार गजेन्द्रको छोराको पाउ पुजे।

केही वर्षपछि वडा कार्यालयमा भर्खर आएको नयाँ वडा अधिकृतसँग रामप्रसाद भन्दै थिए,‘अधिकृतज्यू, गजिन्द्र ठगी मुद्दामा जेलमा छ। गजिन्द्रको छोराले मेरी छोरीलाई धेरै दुःख दियो। रातदिन नखरमाउलीहरूसँग लठारिएर जग्गा जति बेचेर खाइसक्यो। अब जसरी हुन्छ मेरी छोरीसँग तुरुन्तै सम्बन्ध विच्छेदको परिबन्ध मिलाइदिनुपर्यो। खर्चको चिन्ता लिनुपर्दैन। म छु।’

अधिकृत मुसुक्क हाँस्दै बोले,‘म प्रक्रियामा राखिदिउँला, हुनेनहुने कानुनको हात छ। खर्चबर्चको कुराचाहिँ मसँग नगर्नुहोला। मलाई त्यो चल्दैन। म इज्जतमा रमाउँछु। म पैसाका लागि तन्नामे  कमलप्रसाद हुँ।’

प्रकाशित: १४ माघ २०७८ १०:४८ शुक्रबार

अक्षर