छविलाल खड्का
मुखिया बाको विश्वासिलो पात्र पप्पी थियो। उसले घरतिर कुदृष्टि दिने जो कोहीलाई पनि हकाथ्र्याे। उसको भुकाइले सबैलाई भान हुन्थ्यो घरको रक्षक ऊ नै हो। उसको स्याहारसुसारमा कुनै कमी थिएन।
देवीदेवतालाई खुसी बनाउन नसके अनिष्ट हुन्छ भन्ने बुझाइ मुखिया बाको थियो। समयसमयमा भाकल गर्थे। ऐनमौकामा पशुबलि चढाउँथे। यो उनको कर्तव्यभित्र पर्थ्यो।
उनको घरआँगनमा कालो बोका बाँधिएको थियो। एm एक्लाएर कराइरहेको थियो। पप्पी भने मासु खाने सपना बुनिरहेको थियो।
ऊ नजिकै आएर भन्यो, ‘कति कराएको? चुप लाग् न। अब पाँच दिन त छ गढीमाई मेला आउने। त्यसपछि त...।’
यो कुराले बोका नराम्ररी झस्कियो। उसका आँखाबाट बलिन्द्रधारा आँसु निरन्तर खसिरहे।
चौबाटातिर होहल्ला सुनियो। केही मानिसको हुल यतै आउँदै थियो। उनीहरू भन्दै थिए, ‘पशु अधिकार – जिन्दावाद! पशुबलि – बन्द गर!’
बोका नजिकै गएर धरधरी रोयो। तिनीहरूमध्येको नाइकेझैं देखिने खाइलाग्दो युवकलाई भन्यो, ‘के मेरो प्राणको रक्षा गर्न सक्नुहुन्छ?’
‘ढुक्क हौऊ। हामी पशु अधिकारकर्मी हौं। पशु हत्या रोक्नु हाम्रो दायित्व हो।’ सान्त्वना दियो।
बोकाले अलिकति राहत महसुस गर्याे। पप्पीमा थोरै निरासा छायो।
पाँच दिनपछि पप्पी खुसी र बोका दुखी देखिए। उसले पशु अधिकारकर्मीहरूलाई सम्झ्यो तर केही उपाय थिएन। रुँदैरुँदै मुखिया बाकोपछि लाग्यो। केही समयको हिंडाइपछि मान्छे नै मान्छे भएको ठाउँ आयो।
एक भुसतिघ्रे भन्दै थियो, ‘यसको मार मै हान्ने हो, मुखिया बा।’
बोकाले यसो मुन्टो उठाएर के हेरेको थियो। हातमा खुकुरी समातेर मार हान्न खुराफात गर्ने उही पशुअधिकार कर्मी थियो।
प्रकाशित: १३ माघ २०७८ ०८:४७ बिहीबार