कला

सासू आमा

लघुकथा

प्रेम पुन मगर

ऋषिमाया बज्यैले दुखेसो पोखिन्, ‘मैले मलाई मनपर्ने बुहारी बिहे गर छोरा भनेकै हो। छोरालाई त्यही डंकिनीले मोहनी लगाइछ। ल्याइहाल्यो। जुन दिनदेखि ऊ घर भित्रिइन् तब यो घरको सुखचयनमै आगो लाग्यो। कहीं नभाकी कुलच्छिनी?’

उनका फतफत सुनिरहेकी हरिकला बज्यैले भनिन्, ‘रामराम, के बोल्नुभएको दिदी? सासू आमा भएर पनि आफ्नै एक मात्र बुहारीलाई त्यस्तो सोचाइ राख्ने? यो उमेरमा त उनीहरूलाई  अर्ति बुद्धि दिने र तालाचाबी दिएर जिम्मेवार बनाउने पो त।’

‘नकराऊ हरिकला, तिमीलाई पनि मेरी जस्ती बुहारी परेको भए तिमी त बहुलाइसक्थ्यौ। कस्ती चोर्नी छे। अझ छोरा पनि उसकै कुरामा लागेर मलाई देख्न मान्दैन।’

ऋषिमाया बज्यैले रिसाउँदै भनिन्, ‘छोराबुहारीलाई संस्कारी बनाउने नबनाउने आफूमा पो भर पर्छ त दिदी। हजुरको बोली नै त्यस्तै छ। कस्ता होऊन् त?’  

प्रकाशित: ८ माघ २०७८ ०६:३० शनिबार

अक्षर