कला

रोजाइ

लघुकथा

खगेन्द्र बस्याल

अरूले नचिनाए पनि अनुहार पुस्तिकाले उनीहरूलाई चिनायो। 

क्रमशः च्याट अडियो हुँदै भिडियोमा पुग्न धेरै समय लागेन। प्रत्यक्ष रूपमा नदेखिएको भए पनि अभिन्न भइसके।

ऊ तराईमा बस्थ्यो भने उनी पहाडको दूरदराजमा रहन्थिन्। एकदिन उसले भन्यो, ‘म तिमीलाई भेट्न अनुसन्धानको बहाना बनाएर आउँदैछु है।’

उनीले अनुहार पूर्णिमा बनाउँदै भनिन्, ‘ढिला नगरी आउनु न। म तपाईंको भव्य स्वागत गर्नेछु।’

उसले भन्यो,‘केके खान दिने त स्वागतमा!’

जवाफ पायो, ‘तपाईंले जेजे चाहना गर्नुहुन्छ।’

उसले उत्साहित हुँदै भन्यो, ‘म त अनुसन्धान सकिएको छैन भन्दै तीन दिन तपाईंको घरमा बस्छु नि! हरेक छाकमा नयाँनयाँ परिकारले स्वागत गर्न सक्छ्यौ त!’

उनले भनिन्, ‘नसक्ने कुरैछैन। पहिले आएर त हेर्नुस्।’

यो सुनेर ऊ खुशीले पग्लियो। यसैले भन्यो,‘आहा, यही हो सच्चा प्रेम भनेको। अनि बताऊ, त्यो पहाडी दूरदराजमा मेरो रोजाइको परिकार तीन दिनसम्म हरेक छाकमा फरकफरक कसरी पकाएर दिन सम्भव छ?’

उनीले मुसुक्क हाँस्दै भनिन्, ‘तराईमा जे पनि पाइन्छ, यसैले तपाईंको रोजाइको परिकारका खाद्य सामाग्री मोटरसाइकल पछाडि बोरामा राखेर राम्रोसँग बाँधेर ल्याउनु हुन्छ भन्न विश्वास छ। पकाउन म पारंगत नै छु। केही नजाने तपाईले सिकाइदिनु हुने नै छ। मेलै मुस्कानका साथ पस्किएर दिँदा त्यसको स्वादमा चौरासी व्यञ्जनको अनुभूति गर्नु हुनेछ। बरु, भन्नुस् न तपाईं कहिले आउने?’

प्रकाशित: ६ माघ २०७८ ०५:२० बिहीबार

अक्षर