कला

पिता औंसी

लघुकथा

तुलसीराम खरेल

धेरै वर्षपछि बुवाको मुख हेर्ने दिन पारेर भरत पिताजीको निवासमा आइपुगे। पिताजी उमेरले असी नाघिसकेका थिए। त्यो दिन भरतले पिताबाट इतिहासका पानाहरू पल्टाउन चाहन्थे। पिताजीको जीवनमा घटेका अविस्मरणीय घटनाहरूलाई नियाल्न चाहेका थिए भरतले। पहाड, मधेस, आसाम, बर्मा, भुटान हुँदै फेरि नेपालको घुमाइफिराइका क्रममा पिताजीले पाएका महत्त्वपूर्ण सत्यको खोज नै भरतको प्रमुख उद्देश्य बनेको थियो यस वर्षको पिता औंसीको दिन।

उनले एकसमय फालेलुङको भीरको बाटो दार्जिलिङबाट नुन बोकेर ताप्लेजुङको रानी गाउँमा लानुपर्ने थियो। दार्जिलिङलाई पहाडकी रानी भनिन्थ्यो। त्यसबेला पुर्वी पहाडका मानिसहरूले ठूलो ठाउँमा घुम्न पाउनु भनेकै दार्जिलिङ पुग्नु थियो। दार्जिलिङ घुमेर गाउँमा झिलीमिली दार्जिलिङको कुरा, बम्बाइसन, दुदाइसान खाएको कुरा गर्ने मानिसहरू भाग्यमानी ठानिन्थे। भरतका पितालाई पृथ्वीको स्वर्ग नै हो जस्तो लाग्यो दार्जिलिङ।

साथीहरूसँग नुनको भारी बोकेर झण्डै तीन दिनको बाटो दार्जिलिङबाट रानीगाउँ जानेआउने अवसर मिल्यो उनलाई। फालेलुङ अति नै चिसो स्थान थियो। फालेलुङको हिउँमा धेरै पैदलेहरूले ज्यान गुमाएका थिए।

सोह्रसत्रका पाँचजना युवकका मनमा दार्जिलिङका बम्वाइसन, दुदाइसनको स्वादले बाटो काट्न हिम्मत बढाइरहेको थियो। एकैछिनमा हिमपात हुनथाल्यो। परपरका रुखपातहरू सेताम्मे हुन थाले। घर र गोठहरूका छानाहरू र सेतो आकाश छुट्टिन छोड्यो। उनी पछि परिसकेका थिए। एक्लै आत्तिएको मन बोकेर हिंडिरहे उनी। अब हिम्मत मर्न थाल्यो उनको। मुटु रोकिएजस्तो भयो। भारी बोकेका हात अचल भए। खुट्टाहरू दह्रो टेकिन छोडे।

जीवनको अन्त्य सोचे उनले। आमा सम्झे। बा सम्झे। साथीहरू सम्झे। आफूलाई छोडेर अघि बढेका स्वार्थी साथीहरू सम्झे। गाउँको सधैं झैझगडा गर्ने नरे सम्झे। एकैछिनमा पाथिभारा देवी मन्दिर सम्झे।

बाटाबाट कराएको सुने उनले। ‘ए केटा, ए भाइ! यो बाहुन केटा त मर्न पो लागेछ’ एकजना शेर्पा दाजुले कराएको सुनियो। शेर्पा दाजुले उनलाई समातेर लगे। बाटोछेउमा दाउरा बालेर आगो तापिरहेका मानिसहरूको समूहमा पुर्‍याइयो। उनको भारी एकजना शेर्पेनी दिदीले झारिदिइन्। उनका हात कक्रिसकेका थिए। उनका शरीरमाथि न्यानो कपडा र तातो चियाको प्रभाव पर्न थाल्यो। उनका आँखा खुले। शरीरमा रक्तसञ्चार हुनथाल्यो।

त्यो दिन पितातीर्थ औंसीको दिन थियो। पिताजीको जिउँदो इतिहास चाखपूर्वक सुने भरतले। पिताजी अझ अनुहारको चमक बढाउँदै बोलिरहेका थिए।

हिउँले खाएका पिताजीका हातहरू भरतले नियाले। सबै सन्तानलाई उच्च शिक्षाका लागि दाउरा चिरेर  जीवनभर संघर्ष गरेका पिताजीका हातका औंलाहरूमा नीला ठेलाहरू टल्किरहेका देखिन्थे।

प्रकाशित: २९ पुस २०७८ ०७:३५ बिहीबार

अक्षर