कला

लिगलिगे दौड

कविता

रमेशचन्द्र अधिकारी

 

गोरखनाथको चन्दन टाँसेर ललाटमा

नियाल्नुपर्थ्यो होला

खुकुरीको सानमा टल्किएको

बाङ्गोटिङ्गो भूगोलको नक्सा।

लडाइँका प्रत्येक समयहरूले

कसरी उनेर ल्याउँथे होलान् 

रगतमा जम्दाजम्दै गरेका  

माटाका डल्लाहरू।

हातको प्रहारमा

कम्पन महसुस हुन्थ्यो/हुन्थेन,

अलग गर्न सक्थ्यो/सक्थेन

डर, क्रोध अनि भयहरू बोकेका

भिन्दाभिन्दै आयतनका मस्तकहरू।

कति निर्ममताहरू

कानको बाटो भएर छिर्थे होलान्,

झन्झनाहट दिन्थे/दिन्थेनन्

क्रन्दनहरूले मगजहरूलाई।

खुट्टाहरूले नापेर

गणित गरिन्थ्यो/गरिन्थेन

राज्यको सीमारेखा,

युद्ध सकिएपछि।

पृथ्वीनारायण

तिमी हेर्न सक्छौ /सक्दैनौं 

तिम्रै चोरी औंलाले देखाइरहेको स्थानबाट

आजभोलि रैतीहरूले दगुर्ने 

लिगलिगे दौड?

प्रकाशित: २९ पुस २०७८ ०५:३५ बिहीबार

अक्षर