कला

भ्रम

लघुकथा

निर्मला बराल

उसले फेसबुकमा साथी बन्न अनुरोध पठाइरह्यो। शुरूमा वास्तै गरिनँ। चिन्नु न जान्नु भनेझैं लाग्थ्यो तर उसले बारम्बार ताकेता गरेपछि म पग्लिएँ। मैले मित्रता एसेप्ट गरे।

त्यसपछि उसले मेसेन्जरमा कल गर्यो। परिचयबाट सुरु भएको प्रसंग भलाकुसारीसम्म पुग्यो। त्यसपछि समय गएको पत्तै नहुने भयो। जवानीमै दुबई जानुपरेको हुँदा उसले जोडी बाँध्न पाएको रहेनछ। आखिर एकदिन उसले गम्भीर भएर भन्यो, ‘हेर नम्रता, तिमीसँग गफ नगरेको दिन मलाई निन्द्रै लाग्दैन। मलाई तिम्रो औधी माया लाग्छ।’

उसका कुराले म पनि मैनझैं पग्लिएँ। ऊप्रतिको विश्वास सगरमाथाझैं उँचो भएर मसामु उभियो। फेसबुके कुराकानी कतिखेर प्रेममा परिणत भयो, पत्तै भएन। विगतले लगाएका मेरा घाउहरू भरिन्छन् जस्तै लाग्दै थियो। अब उसको छायाबाट भाग्न नसक्ने भएकी थिएँ।

अचानक नविनको कल आउने सिलासिला घट्दै गयो। अहिले त झन् उसको कल नआएको हप्ता दिन भएको थियो। मेसेन्जरमा कल गर्दा पनि उठिरहेको थिएन। मनमा एक किसिमको औडाहा र छटपटी भयो। निस्सासिएझैं भएँ म।

अचानक एकदिन ट्वाङ्ङ म्यासेज बज्यो। म झसंग भएँ। खुशीको सीमा नै रहेन। मैले आँखा दौडाउन थाले उसको म्यासेजमा। म्यासेज पढ्दै गएँ–नम्रता म यहाँ निकै बिरामी परें। घरका परिवारले घर फर्कने ढिपी गर्दै छन्, विशेष मेरी श्रीमतीले। पर्सी नेपाल फर्किर्दै छु। अब मलाई फोन नगर्नु र म पनि गर्ने छैन्।’    

छाँगाबाट खसेझैं भएँ म। सानी छोरीलाई मेरा आँसुको कारण बताउने मसँग बहाना थिएन। मैले एकहोरो हेरिरहें भित्तामा टाँगिएको उनको स्वर्गीय बाबा अर्थात् मेरो श्रीमानको तस्वीर।

–नरुनुस आमा।

एक अबोध मनले जूनलाई अनुरोध गरिन्,‘मेरो बाबालाई छिट्टै पठाइदिनु है। बाबालाई सम्झेर यहाँ मेरी आमा रुँदै हुनुहुन्छ।’

प्रकाशित: २४ पुस २०७८ ०८:४८ शनिबार

अक्षर