कला

फुपूको श्राद्ध

लघुकथा

मधुसूदनप्रसाद घिमिरे

एउटा कन्सुत्लो सुलुलु हिँडेर मन्त्री क्वाटर पुगेछ। त्यहाँको भित्तामा टाँसिएर सबै क्रियाकलाप हेर्दाे रहेछ। बैठकमा भएका छलफल पनि सुन्दो रहेछ। मनमा गुन्दो पनि रहेछ। कोही आउँदा रहेछन्। जनकपुरको माछा ल्याउँदा रहेछन्।

अनि ‘यो त हजुर मेरो आफ्नो उत्पादन चीसो पानीको माछा। हजुरलाई उपहार ल्याएको’ भन्दै घुँडा मारेर धनुष्टंकार गरी हात जोड्दा रहेन् र आफ्नो काम पट्याउँदा रहेछन्।

कोहीचाहिँ सप्रेर फलेको केराको बोटै बोकाएर आउँदा रहेछन् र काम पट्याउँदा रहेछन्। मन्त्राणीको चाकडीमा अफिसको कर्मचारी पनि पुग्ने गरेको कन्सुत्लाले हेरिरहेछ। विभिन्न क्रियकलाप, दिनमा भएका अफिसियल कामको गफ, गोप्य कोठाका चर्तिकला सबैजसो कनसुत्लाले थाहा पाइरहेछ।

अस्थायी कर्मचारी नियुक्तिमा भएको मनपरी। संसद् कोष भत्ता आदि कुरा सुनेर कनसुत्लाले ठानेछ, ‘लौ गर तिमीहरू नै मोजमस्ती। यो देशमा लुटको धन, फुपूको श्राद्ध खुबै फापेको छ।’

कनसुत्लाले गाउँघरको माटाको छाप्रामा बस्ने साथीलाई चिठी पठाएछ। चिठीमा लेखिएको रहेछ, ‘हेर साथी, तिमी र तिमीजस्ता बस्ने निरीह गाउँका निश्छल मनहरूलाई भनिदेऊ–काठमाडौंमा त ठुलाठालु सधैं फुपूको श्राद्ध गर्दा रहेछन्।

प्रकाशित: २० पुस २०७८ ०९:३२ मंगलबार

अक्षर