कला

‘कठपुतली’ सन्देश

यो एउटा निकट विगतको इतिहास हो। ‘कठपुतली’ त्यस्तै एउटा कथा हो, जसले राजतन्त्र समाप्त हुनुको कारण खोतल्छ। जिउँदा मानिस राजाको जयजयकारमै व्यस्त छन्। गाउँगाउँबाट ल्याएका सुसारेलाई अन्यायपूर्वक मारिएको छ। तिनैले एउटा भिन्न शैलीमा राजपरिवारका पुरुष सदस्यसँग बदला लिएका छन्।

प्रायः पोहोरको चिसो बिर्सिने मानिसको स्वभाव हुन्छ। त्यसैले अहिलेको हिउँद बढ्ता चिसो लाग्छ। पुराना शासन व्यवस्थाको न्यानोपनको वर्तमानमा महसुस हुन्छ। वर्तमानका शासनका भोगाइमा चिसोपन देखिन्छ। त्यसले हामीलाई चाहिनेभन्दा बढ्तै ठिहिर्‍याउँछ। त्यही भएर मुलुकमा यतिबेला फेरि राजतन्त्रको झझल्कोले एकथरीलाई साह्रै सताएको छ। लाग्छ, ती साह्रै पारिला दिन थिए।

नेपाली चलचित्र ‘कठपुतली’ बुधबार सार्वजनिक भएपछि यस्तै भावना मनमा खेलिरहेका छन्। तमु लोसारको पूर्वसन्ध्या देश अविराम झरीले भिजिरहेको थियो। राजधानी काठमाडौंको बिग मुभीमा आमन्त्रित सिनेप्रेमीलाई भने ‘कठपुतली’का भयानक दृश्यले भन्दा राजतन्त्रकालका नलेखिएका इतिहासले बढ्ता तर्साएको हुनुपर्छ। ती दृश्य सिनेमा हलबाहिर परिरहेको पुसे झरीभन्दा बढ्ता चिसा थिए। तिनले झकझक्याइरहेका थिए–बितेको समय सजिलै बिर्सन हुँदैन।

सिनेमामा कठपुतली माध्यमबाट राजतन्त्रको जगमा हुने ज्यादती पस्किने काम भएको छ। राजदरबारको सेवामा ल्याइएका निर्दोषहरूलाई मारेपछि कठपुतली बनेर लिएको प्रतिशोधले भन्छ– जिउँदाहरूले मात्र विगत बिर्सन्छन्। कम्तीमा कठपुतलीले आफू बाँचेका बेला भएको अत्याचारको मरेपछि भए पनि प्रतिशोध लिन्छन्।

मुलुकमा राजतन्त्र समाप्त भएको डेढ दशक पुगिसकेको छ। राजतन्त्र समाप्त हुनुमा अनेकन् कारणमध्ये दरबारको भोगविलासपूर्ण जीवन पनि हो। दरबारले गरेको अत्याचार जनताले सहन नसकेपछि जनआन्दोलन हुन्छन्। अन्ततः एक दिन यसले इतिहास बन्नुपर्ने हुन्छ।

यो एउटा निकट विगतको इतिहास हो। ‘कठपुतली’ त्यस्तै एउटा कथा हो, जसले राजतन्त्र समाप्त हुनुको कारण खोतल्छ। जिउँदा मानिस राजाको जयजयकारमै व्यस्त छन्। गाउँगाउँबाट ल्याएका सुसारेलाई अन्यायपूर्वक मारिएको छ। तिनैले एउटा भिन्न शैलीमा राजपरिवारका पुरुष सदस्यसँग बदला लिएका छन्।

हाम्रो राजतन्त्रको सन्दर्भमा पनि ‘टुट्न तयार हुने तर नझुक्ने’ सन्दर्भ छन्। त्यसकारण ती जनआन्दोलनको बलमा हुत्त्याइन्छन्। जनतामाथि ज्यादती गरेपछि अन्ततः हुत्तिनुको विकल्प छैन। दरबारभित्र सायद जनताका भावना बुझेर अघि बढ्नुपर्छ भन्ने हुँदा हुन्। कतिपयले डराइडराई भए पनि सल्लाह दिएको हुनुपर्छ। अहंकारका अगाडि यस्ता सल्लाहको के अर्थ हुन्छ र? सल्लाह दिनेले यही गति हुने हो भने राजतन्त्र इतिहासको विषय हुन्छ भनेर पक्कै सम्झाएको हुनुपर्छ।

राजतन्त्र अन्त्यको कथालाई सिधै नभनेर तर्साउने सिनेमामार्फत भन्नु आफैंमा एउटा सिर्जनशील अभ्यास हो। सिनेमामा नयाँ पुस्ताको प्रवेशसँगै यस्ता प्रस्तुति देखिनु स्वाभाविक हो। हलिउड सिनेमामा भूतप्रेत वा अनेकन् काल्पनिक जन्तु देखाइनु स्वाभाविक मानिन्छ। कथालाई सामान्य मानिस पात्रका रूपमा प्रस्तुत नगरी यसरी वैकल्पिक धारलाई अपनाउँदा स्वाभाविक रूपमा दर्शकमा जिज्ञासा उत्पन्न हुन्छ।

नेपाली सिने क्षेत्रमा युवा आगमनको संकेत हो यो। प्रयोगका दृष्टिले पनि यसलाई  महत्त्वपूर्ण मान्न सकिन्छ। सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको यो सिनेमा शिल्प, छायांकन, प्रस्तुति आदिका आधारमा पनि प्रयोगधर्मी छ। यसले नेपाली सिनेमालाई वैकल्पिक विषयवस्तु र प्रस्तुतिका निम्ति मार्गदर्शन गर्न सक्छ।

नेपाली सिनेमामा ‘नुमाफुङ’ जस्ता कथा आएपछि यसलाई हेर्ने दृष्टिकोण फेरिएको हो। पछिल्ला दिनमा ‘पशुपतिप्रसाद’ जस्ता प्रयोग पनि भएका छन्। यस स्थितिमा ‘कठपुतली’ले पनि यस क्षेत्रमा नयाँ धार र समय समात्न सिनेमा जगत्लाई प्रेरित गर्न सक्छ।

कोरोना महामारीका कारण दुई वर्षजति हलमै गएर सिनेमा हेर्न पाएनौँ। यो अवस्थामा ‘कठपुतली’ले चलचित्र भवनमै पुग्न नपाएकालाई एकपटक फर्काउने मौका दिएको छ। योसँगै केही नेपाली सिनेमा प्रस्तुतिका निम्ति पालो कुरेर बसेका छन्।

‘कठपुतली’ निवर्तमान हुन लागेको राजतन्त्रको एउटा कालखण्ड र अर्को राजपुरुष जानै छोडेको अर्को भग्न दरबारका बीचमा घुमिरहन्छ। दरबारमा गाउँगाउँबाट ल्याइएका सुसारेलाई राजपुरुषले भोगेपछि हत्या गरेको र तिनीहरूले भूत बनेर लिएको प्रतिशोधको कथा हो यो।

‘मख्खी’ नामक हिन्दी सिनेमामा एउटा झिँगाले लिएको प्रतिशोधलाई केन्द्रमा राखिएको थियो। त्यो बेला सिने समीक्षकले त्यहाँका नामी पुरुष कलाकारले अब मख्खीसँग प्रतिस्पर्धा गर्ने भनेर लेखेका थिए। सम्भवतः हाम्रा सिनेमामा अब यहाँका चर्चित कलाकारले ‘भूतप्रेत’सँग प्रतिस्पर्धा गर्न सक्छन्। समय र माध्यम जति आधुनिक हुँदै जान्छ, त्यति नै अनौठा प्रयोग हुन थाल्छन्। पढेलेखेको पुस्ताले तार्किक संसारका निम्ति अपत्यारिला लाग्ने यस्ता विषय समात्नु प्रयोग गर्न तत्पर भएको सन्देश दिनु पनि हो।

वास्तवमा सिनेमा हेर्न जाने भनेको विभिन्न आधुनिक माध्यमको प्रयोग कसरी भइरहेको छ भन्ने बुझ्नु पनि हो। सिनेमा रंग, आवाज, प्रकाश, यसका पात्र र कथा–उपकथासँगको ऊहापोहले भरिएको हुनैपर्छ। त्यति भए मात्र दर्शकलाई यसले बाँधिरहन सक्छ। अन्यथा, अहिलेका व्यस्त मानिस सिनेमा हलमा बसिरहँदैनन्। त्यति मात्र होइन, आज सिनेमाले युट्युब, नेटफ्लिक्स हुँदै टिकटकसम्म हेर्ने दर्शकलाई समात्नुपर्ने छ।

चलचित्र ‘कठपुतली’का कलाकार पनि आफ्ना पात्रभित्र राम्रैसँग प्रवेश गरेको देखिन्छ। कर्मा, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्केका प्रमुख भूमिका तत्काल बिर्सन नसकिने खालका छन्। खासगरी नाट्यविधामा सशक्त भूमिकामा देखिएका मिथिला र उषाको भूमिका यहाँ पनि उत्तिकै सशक्त छ। महारानीको भूमिका गौरीका निम्ति निकै खुलेको छ।

यसका कुनै कुनै दृश्य भयानक लाग्छन्। पोस्टरमा रहेकी भूत साँच्चिकै महिला बनेर लखेटेको दृश्य त्रासद र रोचक दुवै लाग्छ। प्रायः नेपाली र हिन्दी चलचित्रमा आइटम गीत र दृश्य आवश्यक मानिन्छन्। यो सिनेमामा भने एक मात्र अर्थपूर्ण गीत र नृत्य राखिएको छ– ‘यो ज्यान कठपुतली, त्यो ज्यान कठपुतली, समयको औंलीमा छ नचाउने सुतली...।’

‘कठपुतली: द पपेट’ ले यसअघि नै न्युयोर्कको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘विन्टर फियर अवार्ड’ हासिल गरिसकेको छ। यसले उक्त अवार्डमा ‘उत्कृष्ट हरर फिचर’ विधामा सफलता प्राप्त गरेको हो। देशभित्रका सिनेमा घरमा ‘कठपुतली’ले राज गर्न सक्यो भने भोलिका दिनमा यस क्षेत्रमा नयाँ प्रयोगका निम्ति वातावरण बन्नेछ। वास्तवमा अन्य क्षेत्रमा जसरी लगानी भइरहेको छ, नेपाली सिनेमा क्षेत्र तुलनात्मक रूपमा पछि परेको छ। प्रयोगधर्मी नयाँ पुस्तामार्फत यस क्षेत्रको सुधारको बाटो यसले देखाउन सक्छ।

प्रकाशित: १७ पुस २०७८ ०४:०७ शनिबार

अक्षर