कला

व्यस्त जीवन

लघुकथा

गंगा आचार्य सापकोटा

घर गृहस्थी तोतेदेखि थोतेसम्मको स्याहार, अफिस।

अति व्यस्त राधाले अफिस जाँदै गर्दा सोचिन्, ‘घरमा एउटा सहयोगी राख्न पाए अलि आराम हुन्थ्यो कि।’

बेलुकी अफिसबाट घर फर्कँदै थिइन्। आफ्नो पछाडि सिटमा बसेका दुई महिलाका कुराकानी सुनिन्।

एउटी, ‘आखिर घरको काम पनि केही गर्दिनँ, सहयोगी छँदै छ। आराम गरिरहन्छु। खै किन दुख्छन् नसा, हाडजोर्नी पनि। दिक्क लाग्ने कति खानु औषधि।’

अर्की, ‘तिमीले भान्साको काम त गर्छ्यौ। मैले त्यो पनि गर्दिनँ। दुईदुई जना सहयोगी छन्। भनेर भएन्। यसपालि झन् मधुमेह र थाइराइडको औषधि पनि थपियो।’

राधाले पछाडि फर्केर हेरिन्। पहाड नै बोक्लान् जस्ता महिला। अनुमान गरिन्, ‘आफूभन्दा दशकौंले कान्छा होलान्।’

राधालाई आफू निकै स्वस्थ र तन्दुरुस्त भएजस्तै महसुस भयो।

मनले तुरुन्त गमिन्, ‘भोलि बिहानदेखि अझै छिटो उठ्छु। आफ्नो काम आफै गर्छु।’

प्रकाशित: १४ पुस २०७८ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App