कला

खसी

लघुकथा

रेणु अधिकारी मौनता

–कता गयो खसी? अघि मैले यही करेसामा किला ठोकेर डोरीले बाँधेको थिएँ। अहिले छैन त! अब त दशैमा खसी किन्न पनि नसकिने भयो, कत्ति महगो भएको! बगरेकोमा एक किलाकै बाह्र रे उफ्। फत्फताउदै खसी खोज्न थाले साइँला बा।

–साइँली ए साइँली, खसी कता लगिस्। यहाँ करेसामा छैन त?’

–किन च्याँठिएका यी बुढा जत्तिखेर पनि खसीखसी भनेर। बिहान आफैले करेसामा लगेर बाँधेको होइन र?

साइँली आमा पनि  बगैंचातिर लागिन्। साँच्चि नै खसी त्यहाँ थिएन। उनी गनगनाउँदै  थिइन्-पर्सीको फुलपाती छ। यसपालि विदेशबाट छोराबुहारी र नातानातिना सबै दशैमा घर आउने भनेर बुडाको पेन्सन, आफ्नो वृद्धभत्ता मिलाएर घोर्ले खसी किनेर लेराएको, खसी किनेदेखि कत्ति खुसीले भुँइमा खुट्टै थिएन बुडाको। किलाबाट फुत्किएर कता भाग्यो होला खसी?

साइँली आमाको पनि ओठमुख नै सुक्यो। करेसामा खसी बाँधेर घरभित्रै काममा व्यस्त थिइन् उनी। साइँला बा दुईचार जना बटुलेर तास खेल्न थालेपछि समय बितेको पत्तै नपाउने।

दुवै जना मिलेर निकैबेर खसी खोजे तर कतै भेटिएन।

कताकता मासुको मिठो बास्ना आइरहेको थियो। अस्ति तास खेल्दा बिस हजार हारेर गएका भतिज केसरेले तातोतातो खसीको भुटुन एक कचौरा साइँली आमाको हातमा थमाउँदै भन्यो, ‘साँइली आमा, दशैमा हराएको खसी पाइँदैन। अब अस्ति जितेको बिस हजारले अर्को खसी किनेर लेराउन भन्नु साइँला बालाई।

प्रकाशित: १२ पुस २०७८ ०७:१८ सोमबार

अक्षर