कला

अधिकार

लघुकथा

अवतार ढकाल

श्रीमती खाना पकाउँदै थिइन्। श्रीमान् कम्प्यूटरको किवोर्डमा औंला नचाउँदै थियो। ऊ एकछिन औंला चलाएपछि केही समय रोकिन्थ्यो। सिलिङतिर हेरेर टोलाउँथ्यो। निधार खुम्च्याउँदै सोच्थ्यो र फेरि टाइप गर्न सुरु गर्थ्यो।

दुवै आआफ्नो काममा व्यस्त थिए। यत्तिकैमा खाटमा सुतिरहेकी सानी छोरी  रुन थाली।

‘छोरीलाई फकाउनु त म तरकारी ओइरिन लागेकी छु। तेल डढ्न लागिसक्यो।’ श्रीमतीले भनिन्।

‘ह्या बरू ग्याँस बन्द गरेर आऊ न है। म मुडमा छु क्या! कविता फुरिरहेको छ।’ उसले छोरी फकाउने अनिच्छा देखाउँदै भन्या।

‘कति सजिलो छ है बाउ बन्न? आफ्नै छेउको बच्चा रोइरहँदा पनि फकाउनु नपर्ने। जन्माउनुअघि र जन्मेपछि पनि दुःख जति सबै आमाले गर्नुपर्ने। ’ उनले छोरी काखमा लिंदै भनिन्।

‘त्यत्तिकै आमालाई महान् भनिएको हो त? तर, मान्छेका आमाभन्दा जनावरका आमाहरू अझ बढी महान् हुन्। उनीहरूले त फगत एक्लै बच्चा हुर्काउनुपर्ने हुन्छ। धम्क्याउने, घुक्र्याउने र गुनासो सुनाउने पनि कोही हुँदैनन्। हाम्रै घरको विरालोलाई हेर न। चारचार वटा छाउरा एक्लै हुर्काउँदै छ।’ श्रीमानको बोलीमा सहानुभूति होइन व्यंग्य थियो।

‘उनीहरूको अगाडि आमालाई गुमनाम बनाउँदै मेरो सन्तान भनेर नाक फुलाउँदै अधिकार मात्र खोज्ने बाउ पनि त हुँदैन नि है?’ श्रीमतीले प्रश्न गरिन्।

प्रकाशित: ११ पुस २०७८ ०८:१४ आइतबार

अक्षर