कला

जन कविकेशरीको घरमा ‘लोकसंस्कृति र जीवन’ बारे बहस हुने

जन कविकेशरी धर्मराज थापाको जन्म घर।

जन कविकेशरी धर्मराज थापाको जन्म घरमा ‘लोकसंस्कृति र लोक जीवन’ बारेमा बहस हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र जन कविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार बहस हुन लागेको हो। थापाको जन्मथलो पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा हुने आयोजकले जनाएको छ।  

बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ प्रमुख वक्ताका रुपमा रहनेछन्। उनले पोखराको कुण्डली इतिवृतान्त सुनाउने अध्यक्ष प्रतिष्ठानका अध्यक्ष एवं जन कविकेशरीका ज्येष्ठ सुपुत्र मदनराज थापाले जानकारी दिए। उनले भने,‘उपकुलपति डा.गुरुङले कुलमण्डन शाहदेखी, पोखरा, लामाचौर, बाटुलेचौरसहित समग्र गण्डकी प्रदेशको इतिहास वर्णन गर्नुहुनेछ।’ त्यस्तै उनले पहिले र अहिलेको लोक संस्कृति र त्यसमा आएको फेरबदलबारे बिचार राख्नेछन्।

बहसमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ डा.देवी नेपाल, वरिष्ठ गायिका ज्ञानु राणा लगायतले भाग लिने थापाले बताए। थापाका अनुसार लोक गीत, भजन, सङ्गीत र साहित्यिक माहोलकाबीच लोक संस्कृति र साहित्यका विविध विषयमा छलफल गर्न लागिएकाले यो साहित्य अनुरागीका लागि महत्वपूर्ण कार्यक्रम हुनेछ। कार्यक्रममा जनकविकेशरी थापाका छोरा मदनसँगै कान्छी छोरी पारु भट्ट, कान्छा छोरा मनमोहन मेमोरियल अस्पतालका प्राध्यापक डा.बुलन्द थापा लगायत पनि सहभागि हुँदैछन्।

कार्यक्रमको पहिलो शुक्रबार बेलुकी श्रष्टाहरुले आ–आफ्ना रचना वाचन गर्नेछन्। जसमा स्रष्टाहरुले कविता, गजल, हाइकु र मुक्तक वाचन गर्ने थापाले जानकारी दिए। सो अवसरमा गुरुङ, मगर, नेवारी, तामाङलगायतका मातृ भाषामा पनि कविता तथा गजल वाचन गरिने उनले बताए। कार्यक्रमको दोश्रो तथा अन्तिम दिन पुस १० गते गन्धर्वहरुको मांगलिक धुनबाट कार्यक्रम शुरु हुनेछ। उक्त दिन दिनभरी नै बहससहित विविध साहित्यिक कार्यक्रम हुने उनले बताए। सो अवसरमा गण्डकी प्रदेशको लोकजीवन र लोक संस्कृतिबारेपनि कार्यपत्र प्रस्तुत हुने उनले जानकारी दिए। उनका अनुसार कार्यक्रममा गण्डकी प्रदेश प्रतिष्ठानले घाट नाच प्रस्तुत गर्नुका साथै कवि सम्मान कार्यक्रमसमेत राखेका छ।

अध्यक्ष थापाले लोक संस्कृति स्खलित हुँदै गएकाले यसलाई सहि ट्रयाकमा ल्याउन कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। भने,‘संस्कृतिका माध्यमबाट समाज रुपान्तरणमा सघाउने हाम्रो उद्देश्य हो।’ साहित्यकार जगन्नाथ रेग्मीले साहित्यको तीर्थस्थलका रुपमा रहेको थापाको योगदान र उनको महिमा सबै साहित्य अनुरागीमा पु¥याउन कार्यक्रम आयोजना गरिन लागेको बताए।

जन कविकेशरी थापाले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हह माले हह’, ‘आज मादल बजेको किन ? गाउँबेसी दुनियाँ ब्युँझाउन’, तिम्रो आँसु पुछेरै छाडौँला’, ‘धुरुधुरु नरोउ आमा, ‘हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो’ ‘घर सम्झि रोएको होला डाँडा काटी गएको नेपाली’ लगायतका थुप्रै चर्चित गीत तथा साहित्य रचना गरेका थिए। उनले ‘मंगली कुसुम’ कृतिले २०२५ सालमा मदन पुरस्कारसमेत जितेको थियो।

जन जनको मन मनका वह, देश र समाजको यथार्थ चित्रण गरेकैले थापालाई तत्कालीन राजा महेन्द्रले २०१३ सालमा जन कविकेशरीको उपाधि दिएका थिए। थापाको वि.स. २०७१ असोज १८ गते निधन भएको थियो।

प्रकाशित: ८ पुस २०७८ १०:२८ बिहीबार

जन कविकेशरी धर्मराज थापा