शेखर अर्याल
देशभर इन्सापकै गाइँगुइँ चलेको थियो। निसाफीको न्यायपरक व्यवहारले न्यायपालिका उतारचढाव हुन्थ्यो। नियुक्तिको ओइरो बर्सिन्थ्यो। न्यायशील पनि न्यायिक बन्ने कसरतमा हुन्थे। न्यायप्रेमी नरलोककै फैसलाको प्रतिक्षामा थिए।
न्यायको घण्टी बजेको थियो। नकुल पहाडिया कागजका पाना गन्दै ‘यो त भुँडे साहुको काम, मन्त्रीसँगको मिलेमतोमा मलाई गैरधन्दामा लगाएका रहेछन्। मैले त भन्सार पास मात्र गरिदिएको, आठदस किलो सुनको हुलाकी मात्र बनेको।’
खेतीकिसानी गर्ने शुद्धि ओठमुख सुकाएर चप्पल पड्काउँदै राजस्व अनुसन्धान भित्रियो।
‘हैन हजुर, मेरो के कसुर छ र? किन चिठी काटेको? त्यस्तो चिठी काट्नुपर्ने गल्ती नै पो के गरें?’ उसका प्रश्नमाथि प्रश्न थिए।
शुद्धिको बुद्धि भुटेर नारदले उद्योग दर्ता गरेको रहेछ। गाउँका तमाम किसानलाई उद्योगको मालिक बनाउँछु भन्थ्यो रे।
‘अहिले दुईचार जोर सुट, बाँकी पछि’ भन्दै नागरिकता अनि ल्याप्चे हात पाथ्र्यो उसले।
शहरमा नक्कलीको सक्कली चेहरा घुमेको थियो। हुन्डी कारोवार भनी अध्ययन गर्ने छात्रालाई उभ्याएका थिए प्रहरीले। नकुल र शुद्धिलाई केरकार गर्दै पुलिस जोसिएका देखिन्थे। अनुसन्धान विभागले ती हुलाकी नकुल र कृषकलाई कडोरौंको बिगोसहित न्यायलयमा उपस्थित गरायो।
नारदको फोन खाली छैन। ऊ भोंभों गाडी गुडाउँदै मन्त्री र न्यायलय धाउँछ।
वकिल भन्दै थिए, ‘हैन, शुद्धिले उद्योग सञ्चालन गरी अवैध मालसामान भित्र्याएको देखियो। यो उसको बाहना मात्र हो श्रीमान्। त्यसैले कानुनबमोजिम पाँच वर्ष कैद र एक करोड जरिवाना तिर्नुपर्छ।’
न्यायलयको तराजु हल्लिएको थियो। न्यायधीशले न्यायलयको न्यायप्रणाली न्यायप्रशासनमा न्यायोचित ढंगले मुद्दा न्यायसभामा प्रस्तुत गरे।
नकुल गालामा हात राखेर आफूलाई फसाइएको भन्दै गहभरि आँसु बनाएको थियो। दुधे बालककी आमा ‘न्यायको जित अवश्य हुन्छ’ भन्दै न्यायको चर्तिकला हेरेकी थिइन्।
न्यायपालिका तात्यो। वादीप्रतिवादी राखेर फैसला भयो। फैसलामा तारामण्डल देखियो। तराजु भन्दै थियो, ‘साँच्चिकै न्यायमूर्ति त न्यायमूर्ति नै रहेछ।’
प्रकाशित: ४ पुस २०७८ ०७:२८ आइतबार