कला

तीन कृति विमोचनसँगै दर्जन भाषासेवीलाई गोडैता नपाको सम्मान

सर्लाहीको गोडैता नगरपालिकामा बज्जिका भाषाको तीन कृति एकैसाथ विमोचन गरिएको छ। स्थानीय साहित्यकार रामचन्द्र महतो कुशवाहाले बज्जिका भाषामा लेखेको तीन पुस्तकको सामूहिक लोकार्पण गरिएको हो।

गोडैता नगरपालिका ३ सिमरा–भगवतीपुरस्थित जनता नमुना माध्यमिक विद्यालयको सभाहलमा नगर प्रमुख देवेन्द्रकुमार यादव, डा. कमलेश्वरकुमार सिन्हा, बज्जिका शिरोमणि सञ्जय साह मित्र, बज्जिका सम्राट किशुनदयाल श्रीकृष्ण, कृतिकार कुशवाहासमेतले बज्जिका समाज दर्पण कविता संग्रह, बज्जिका समाज दर्शन प्रेरक प्रसंग र सरकारी विद्यालय नाटकको एक साथ विमोचन गरेका हुन्।

कार्यक्रमको अवसरमा बज्जिकासेवी डा. सिन्हालाई बज्जिका महारथि, बज्ज्किा भाषाका अभियन्ता शिवचन्द्र साहलाई बज्जिका स्तम्भ र बज्जिका साहित्यकारको लागि पुरस्कारको स्थापना गर्ने समाजसेवी धर्मनाथप्रसाद जयसवाललाई बज्जिका रत्नको उपाधि प्रदान गरिएको छ। यसै गरी साहित्यकार तथा भाषासेवीहरु विन्दा साहनी, रेवन्त झा, विपिनबिहारी सिंह, रेणु गुप्ता, रामआधार पासवान, दिनेश यादव संगमसहित दर्जनभन्दा बढी भाषासेवी तथा साहित्यकारलाई सम्मानपत्रसहित गमछा ओढाएर सम्मानित गरिएको छ।

प्रकाशित: १ पुस २०७८ १२:५४ बिहीबार

कृति विमोचन