कला

भगवान्

लघुकथा

अवतार ढकाल

कथा लेख्न भर्खरै बसेको थिएँ। छोरो बाहिरबाट दौड्दै आयो र सोध्यो,  ‘बाबा, भगवान् हुन्छ कि हुँदैन?’

म उसलाई भगवान् हुँदैन भनेर सम्झाउथें। ऊ कताकता केके सुन्थ्यो र बारम्बार यही प्रश्न सोधिरहन्थ्यो।

‘हुँदैन।’ मैले उतिर नहेरी जवाफ दिएँ।

‘बाबा आकाशमा कति धेरै तारा है?’ उसले भन्यो।

‘अँ।’ मैले उसलाई बेवास्ता गरेझैं भनें। म चाहन्थें, ‘ऊ चाँडै  गैदियोस् र कथा लेख्न सकूँ।’

यसो किबोर्ड थिचेर एकदुई शब्द के टाइप गरेको थिएँ, ऊ फेरि सुरु भयो– ‘बाबा, मलाई रात परेपछि  कस्तो डर लाग्छ नि।’

‘किन बाबू?’ अब भनें मैले कथाभन्दा ऊतिर आफूलाई केन्द्रित गरें।

‘ती ताराहरू झरेर हाम्रो टाउकामा लागे भनें ...? हाम्रो घरको छानो प्वाल पारेर सुतेकै ठाउँमा खसे भनें...।’

‘धत्त ...त्यस्तो पनि हुन्छ कहीं। झर्दै झर्दैनन् नि। असम्भव कुरा सोचेर पनि हुन्छ?’ मैले सम्झाउने कोसिस गरें।

‘कसले थामेर राख्दो हो है बाबा तिनीहरूलाई?’ उसले फेरि सोध्यो।

उसका प्रश्नहरूबाट हायलकायल भएको मैले भनिदिएँ, ‘खोई, भगवानले  होला।’

‘ए बुझें बाबा।’ बाहिर जान उठ्दै उसले भन्यो।

‘के बुझ्यौ?’ मैले सोधें।

‘अप्ठेरो पर्दा मात्र  भगवान् हुन्छ।’ सँघारको बीचमा उभिएर उसले जवाफ दियो।

प्रकाशित: २९ मंसिर २०७८ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App