कला

‘रहर कुँदेका पाइलाहरू’ तथा ‘चन्द्रलोकको सानो साथी’ सार्वजनिक

‘वनिता’ प्रकाशनको आयोजनामा बालगायक सन्देश पौडेलका आवाजमा रहेको गीति  एलबम ‘रहर कुँदेका पाइलाहरू’ अडियो तथा शर्मा ललिताको ‘चन्द्रलोकको सानो साथी’ बालकथा संग्रह सार्वजनिक भएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा प्रमुख अतिथि श्याम तमोट,  विशेष अतिथि साहित्यकार रामबाबु सुवेदी, ‘वनिता’का सम्पादक लक्ष्मी उप्रेती, महेश पौडेल, इन्द्रकुमार श्रेष्ठ सरित्, रामदेव पाण्डे लगायतले सो एलबमको एकैसाथ विमोचन गरेका हुन्।

 एलबम सन्देशको जन्म दिन पारेर सार्वजनिक गरिएको हो। चौध वर्षमा पाइला टेकेका गायक पौडेल भक्तपुर, जडीबुटीस्थित जागृति एकेडेमीमा कक्षा ९ मा पढ्दै छन्।

एलबममा लक्ष्मी उप्रेतीको ‘तकदीर’, शर्मा ललिताको ‘ए मन’, महेश पौडेलको ‘निधारमा’, ललिता दोषीको ‘बल्दाबल्दै’ वशुश्री पाण्डेको ‘उडाई लग्यो’ र कार्तिकेयको घिमिरेको ‘भो अब’ बोलका गीत छन्। रेडियो नेपालको स्टुडियोमा रेकर्ड भएको गीतको  मिक्सिङ र मास्टरिङ प्रज्ज्वल खड्काले गरेका हुन्।

त्यसैगरी संगीतकार रमेश सुवेदीले लडकाउनको सदुपयोग गर्दै गीतहरूको संगीत गरेको बताए। उनले गायक पौडेलको भविष्य उज्ज्वल भएको पनि बताए।  त्यसैगरी शर्मा ललिताको ‘चन्द्रलोकको सानो साथी’ बालकथा संग्रह पनि विमोचन गरिएको थियो।

शिक्षण पेसामा आबद्ध शर्माका यसअघि २०७५ मा  ‘सपनाको ‘क’ चित्रकथा पनि प्रकाशित छ। गीति लेखनमा उनको कलम उत्तिकै सशक्त छन्।

साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ले संग्रहका सबै कथा पृथक् – पृथक् विषयमा लेखिएका सबै कथा बालबोधगम्य भएको बताए।

सो कृति ऐरावती प्रकाशन प्रकाशन गरेको हो। प्रकाशक तथा सम्पादक रामदेव पाण्डेले नानीहरूलाई उचित संस्कार सिकाउने सबै कथा उत्तिकै पठनीय रहेको बताए।

समालोचक महेश पौडेलले पनि सबै कथा छोटो र मीठो भएको बताए। प्रमुख अतिथि रामबाबु सुवेदीले देशलाई उँभो लगाउने  कला, साहित्य र संस्कृतिलाई राज्यले त्यत्ति ध्यान नदिएको बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले समाज रूपान्तरणमा गीतसंगीत उल्लेख्य भूमिका हुने बताए। उनले गीतकार पौडेललाई हल्लाको पछि नलागी अगाडि बढ्नु पनि सुझाए। शब्द, संगीत र स्वर सबैका हिसाबले उनको गीत सशक्त रहेको बताए।

लक्ष्मी उप्रेतीले स्वागत मन्तव्य, शर्मा ललिता र गायक पौडेलले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको  सञ्चालन साहित्यकार प्रकाश समीरले सञ्चालन गरेका थिए।

कार्यक्रमका साहित्यकार रेणुका भट्टराई, रञ्जना पराजुली, निर्मला बराल,सरिता वाग्ले पौडेल, रश्मि रिमाल लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: २७ मंसिर २०७८ ०७:४० सोमबार

अक्षर