कला

विचरा छोरा

कविता

श्रद्धा भट्टराई

आठ बजे उठ्छ छोरा अल्छी मानीमानी,

यस्तो जाडोमा पनि काममा जान भनी।

बुहारीले पकाएको खाना खानैपर्‍यो,

खा’को भाँडा उठाउने किन गर्नुपर्‍यो?

बुहारी उठ्छिन् अँध्यारैमा छामछामछुमछुम गरी,

घरको काम सकाएर अफिस जान भनी।

बालबच्चाको चाँजोपाँजो मिलाउनैपर्‍यो,

ठीकठाक परी समयमा अफिस पुग्नैपर्‍यो।

अफिस सकी साथीभाइ भेट्न जान्छ छोरा,

कहिलेकाहीँको रमाइलो सधैंभरि हो र?

कमाउने छोरा मेरो, गर्छ रमाइलो,

अफिसको थकान मेट्न बसिबियाँलो।

हतार गर्दै बुहारी त घरतिर कुद्छिन्,

सन्तानले केके गरे भन्दै पीर गर्छिन्।

कोठातिर नगई उनी भान्छाभित्र पस्छिन्,

दुईचार भनाइ खाँदै–रुँदै उनी काम गर्छिन्।

दुईचार पेग लगाई अबेर आउँछ छोरा,

साथीभाइले कर गरे, के गरोस् विचरा?

उसको कमाइ – उसको घर, उसले जे गरोस्,

बुहारीको स्वर र खुट्टा सधैं ठाउँमा परोस्।

घरको नाथे काम गर्ने छोरा मेरो हैन,

त्यस्तो कुरा गर्न उसलाई फुर्सद पनि छैन।

फुर्सद हुँदा साथीसँग घुम्न जान्छ छोरा,

भ्याईनभ्याई छ उसलाई, गर्नु नै के छ र?

घरव्यवहार, बालबच्चा बुहारीको पेवा,

छोरी मान्छे भएपछि गर्नुपर्छ सेवा।

छोरा मेरो राजा घरको किन गरोस् काम,

बाहिरको थकान मेट्न गरोस् आराम!

प्रकाशित: २७ मंसिर २०७८ ०४:१० सोमबार

अक्षर