कला

धैर्य

लघुकथा

रचना शर्मा

दिनरात मिहिनेत गर्दा पनि उपलब्धि शून्य भएपछि दिक्क मानेर उसले इष्टदेवलाई सम्झिदै मनमनै भन्यो, ‘हेर, मभन्दा त यिनै चिनी बोकेर हिँडेका कमिला बरु कति भाग्यमानी! छ महिना दुख गरे पनि छ  महिना त आरामको जिन्दगी बिताउन पाएका छन्। मान्छे भएर यस्तो जीवन जिउनुभन्दा त यिनै कमिलाको जीवन कति राम्रो कति!’

उसको मनोभाव बुझेर इष्टदेवले तुरुन्त उसलाई मान्छेबाट कमिलामा परिणत गरिदिनुभयो। अब ऊ अन्य कमिलासरह भेली, चिनी र अरू खानेकुरा ओसार्न थाल्यो। रातदिन केही नभनी छ महिना लगातार काम गरिरहनुपर्दा ऊ निकै थाक्यो र इष्टदेव सम्झिदै भन्यो, ‘यो कमिलाको भन्दा त बरु मान्छेको जिन्दगी कति राम्रो कति! कम्तीमा दिनभरि काम गरे पनि रातभरि त आरामको जिन्दगी बिताउन पाएका छन्।’

फेरि उसलाई भगवानले पुरानै मान्छे बनाइदिनुभयो। कमिलाको जुनी पाएर छ महिनासम्म मिहिनेतसाथ काम गरेर  पुरानो अवस्थामा फर्किएको उसले भित्तातिर आँखा पुरयायो। यतिबेला कमिलाहरू खानेकुरा बोक्ने काम छोडेर आराम गरिरहेका थिए।

प्रकाशित: २४ मंसिर २०७८ ०८:५७ शुक्रबार

अक्षर